प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक र अनौपचारिक स्रोतबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपाल बाहिर रहेकाले कार्यान्वयन हुन सकेको छैन।
यसअघि विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर स्वयं बिहान करिब ९ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर देउवा दम्पतीको नागरिकतालगायत विवरण संकलन गरेका थिए। स्रोतका अनुसार विवरण भेरिफाइ गरेलगत्तै पक्राउ पुर्जीका लागि प्रक्रिया अघि बढाइएको हो।
नागरिकतालगायत विवरणहरू भेरिफाइका लागि आउनुभएको थियो, विवरण लिएर जानुभयो, स्रोतले भन्यो।
तर महानिर्देशक ठाकुरले भने पक्राउ पुर्जी लिइसकेको भन्ने विषय अस्वीकार गरेका छन्। “नियमित अनुसन्धानकै प्रक्रिया हो, पुर्जी लिएको छैन,” उनले प्रशासनसँग बताए ।
हाल देउवा दम्पती विदेशमा रहेका छन्। २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू त्यहाँबाट हङकङतर्फ गएको समाचार सार्वजनिक भएको थियो।
यसअघि जेन जेड आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको तथा बुढानीलकण्ठ स्थित निवासमा आगजनी हुँदा जलेका नगद फेला परेको विषय सार्वजनिक भएको थियो। सोही घटनापछि विभागले स्थलगत मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij