प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका फौजदारी अभियोगका कारण १३ दिनसम्म नियन्त्रणमा राखिएको तर मुद्दा चलाउने कानुनी आधार नपुगेको कारण रिहा भएको बताएका छन्।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबै न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दलका नेता र सञ्चारकर्मीहरू प्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा रहेको अवधिमा उनीमाथि मानवीय व्यवहार कायम राख्ने प्रहरी प्रशासन र स्वास्थ्य उपचारमा सहयोग गर्ने त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि ओलीले कृतज्ञता व्यक्त गरेका छन्।
उनले भने, “मेरो रिहाइको माग गर्दा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यदि राज्य उदासीन रह्यो भने पार्टीले यसबारे व्यवस्था गर्नेछ।”
स्वास्थ्य अवस्था प्रतिकूल भएकोले केही दिन अस्पतालमै उपचार गरिरहेका ओलीले पार्टीका समग्र नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई सद्भाव र शुभेच्छा प्रकट गरेकोमा आभार व्यक्त गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij