प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३
काठमाडौँ / सुनचाँदीलगायत बहुमूल्य धातुको कारोबारमा कडाइ गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावलीमा रहेको उक्त व्यवस्था कार्यान्वयनका लागि भन्दै आन्तरिक राजस्व विभागले बहुमूल्य धातु कारोबार गर्ने संस्थाका लागि निर्देशन जारी गरेको हो । ‘एक दिनमा एक पटक वा पटकपटक गरी एक लाख रुपैयाँ वा सो रकम बराबरको विदेशी मुद्राभन्दा बढीको आकस्मिक कारोबार गर्दा वा विभागले तोकेको अन्य कुनै कार्य गर्दा,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) लाई जारी निर्देशनमा उक्त उल्लिखित प्रकृतिको कारोबार गर्ने ग्राहकको विवरण पहिचान र विवरण अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशनमा आकस्मिक कारोबार भन्नाले नियमित नभए आक्कलझुक्कल किनबेच गर्ने र नगदमा सुनचाँदी लगायत बहुमूल्य धातु खरिद गर्ने ग्राहकलाई इंगित गर्न खोजिएको आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए ।
‘ग्राहक नियमित कारोबारी नभई आक्कलझुक्कलको कारोबारी रहेको तथा यस्तो कारोबार नगदमा गर्नेका लागि यो निर्देशन लक्षित गर्न खोजिएको हो,’ ती अधिकारीले भने, ‘चेक, क्यूआर, मोबाइल बैंकिङ वा अरू बैंकिङ माध्यम (उपकरण) मार्फत भुक्तानी गर्नेको हकमा उनीहरूको सम्पूर्ण पहिचान (विवरण) बैंक खातामा रहेको हुन्छ । यसकारण पछिल्लो निर्देशन नगदमा बहुमूल्य धातु खरिद गर्नेका लागि बढी लक्षित छ ।’
यस्तै विभागले यसअघि नै व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई निर्देशन दिएको छ । जसअनुसार सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यावसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ ।
‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij