पूर्वी नवलपरासीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक {IGP}दान बहादुर कार्कीले आज आयोजित कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभएको हो ।
IGP कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक भई ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनु भयो उक्त कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्ण प्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रदेश सरकारको विनियोजित बजेटबाट कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
