प्रकाशित मिति : बुधबार, जेष्ठ ६, २०८३
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले हाल जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश दिएको हो।
सर्वोच्च अदालतले बाटोको म्यादबाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।” प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij