प्रकाशित मिति : बुधबार, साउन २०, २०८३
काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताउनुभएकाे छ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताउनुभएकाे हाे । उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गएपनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयाे ।
उहाँले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बताउनुभएकाे ।
उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि आग्रह गरे । उनले निगमले भारतीय आयल कर्पोरेसनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको पनि बताउनुभयाे । यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको आएको थियो । निगमको उक्त मागअनुसार थप ग्यास तकाल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ ।
उहाँले निगमले दसैँ–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास गरिरहेको पनि बताउनुभएकाे । बरालले सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दसैँ–तिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
उहाँले भने ‘ग्यासको आयातमा केही वृद्धि भएको छ । तर वास्तवमा हामीले कन्जुमरको डिमान्डलाई व्यवस्थापन गर्न सकिएको अवस्था चाहिँ छैन । उपभोक्ताको माग सम्बोधन गर्नको लागि हामी लागिपरेको अवस्था छ । हामीले भारतीय ओयललाई पनि दुई महिना जति हाम्रो ६० हजार मेट्रिक टन ग्यासको माग गरेका छौँ ।
यसअघि हामीले ४७ मेट्रिक टन माग गर्ने गरेका थियौँ । यद्धपी उहाँहरूले पनि बढाएर पठाएको मागअनुसार ग्यास उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । यसबीचमा हिजो उपभोक्ता हित संरक्षण समितिमा पनि कुराहरू उठे । यसको लागि सरकारले नै आग्रह गरेर ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अवस्था भइदियो भने हामीले यो दसैँ र तिहारलाई मध्यनजर गरेर जनताको घरमाखाली रहेका सिलिन्डरहरू समेत भरिदिनसक्छौँ । त्यसपछि सामान्य माग आउँछ भन्ने बाटोमा हामी अगाडि बढिरहेका छौँ ।’
उहाँले बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गर्नुभयाे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij