आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थाइल्यान्डको विद्यालय गोलीकाण्ड: मृतकको सङ्ख्या नौ पुग्यो

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०८३



  • काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार भएको भीषण गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। घटनामा गम्भीर घाइते भई उपचाररत १२ वर्षीया एक बालिकाको शनिबार मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो। नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार हालसम्म १४ जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

    विद्यालय परिसरमा भएको यस आक्रमणमा १४ वर्षीय एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा विद्यार्थी तथा कर्मचारीहरू घाइते भएका थिए। आक्रमणकारी किशोरले विद्यालय जानुअघि आफ्ना हजुरबुबा–हजुरआमालाई समेत गोली प्रहार गरेको र पछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। यसअघि शुक्रबारको घटनामा आक्रमणकारीसहित आठ जनाको मृत्यु भएकोमा शनिबार थप एक बालिकाको निधन भएपछि कुल मृतकको सङ्ख्या नौ पुगेको हो।

    मृतक बालिका अध्ययनरत विद्यालयले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन थाई प्रहरीले शनिबार विद्यालयका विद्यार्थी र शिक्षकहरूसँग सोधपुछ गर्नुका साथै १४ वर्षीय किशोरले आक्रमण गर्नुको कारण र उसले प्रयोग गरेको हतियारको स्रोतबारे गहिरो अनुसन्धान गरिरहेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानको विस्तृत विवरण आइतबार हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

    थाइल्यान्डमा घटेको यो जघन्य घटनाले विद्यालयको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा गर्नुका साथै देशमा बन्दुक नियन्त्रणसम्बन्धी कानुनलाई थप कडा बनाउनुपर्ने बहसलाई तीव्र रूपमा ब्युँझाइदिएको छ। यसैबीच, प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनालगत्तै देशमा बन्दुकसम्बन्धी नियमहरूलाई थप कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij