प्रकाशित मिति : आइतवार, साउन २४, २०८३
बेइजिङ। शक्तिशाली समुद्री आँधी (टाइफुन) ‘डल्फिन’ पूर्वी चीनतर्फ तीव्र गतिमा अघि बढेपछि सुरक्षा सतर्कता अपनाउँदै साङ्घाईका दुई प्रमुख विमानस्थलले १,३०० भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको उच्च जोखिमलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूले प्रभावित सम्भावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
चीनको तटीय क्षेत्रमा ठोकिनुअघि यो आँधीको बाहिरी घेराले ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायुसेवा कम्पनीहरूले पनि जोखिम थपिनसक्ने भन्दै चीनतर्फका आफ्ना नियमित उडानहरू स्थगित गरेका छन्।
मौसमविद्हरूका अनुसार आँधीको केन्द्रभागमा निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर मापन गरिएको छ। आँधीका कारण तटीय क्षेत्रमा ठूलो पानी परिरहेकाले भीषण बाढी र पहिरोको जोखिम उच्च रहेको चेतावनी जारी गरिएको छ।
आँधी झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी भूभागमा प्रवेश गर्ने अनुमान गरिएको छ। आगामी केही दिनमा ती क्षेत्रहरूमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान मौसम विभागले गरेको छ।
साङ्घाईका दुई मुख्य पुडोङ र होङकियाओ विमानस्थलबाट हुने करिब ६० प्रतिशत (१,३०० भन्दा बढी) उडान रद्द गरिएका छन्।
आँधीको त्रासका कारण झेजियाङको ताइझोउ सहरबाट मात्रै करिब ३ लाख ९० हजार र साङ्घाईका उच्च जोखिमयुक्त क्षेत्रबाट ३० हजारभन्दा बढी गरी चार लाखभन्दा बढी मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।
जोखिम न्यूनीकरणका लागि झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायत जलयातायातका सबै गतिविधि पूर्ण रूपमा बन्द गराएका छन्। बाढी र पहिरोको खतराबारे सचेत गराउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij