प्रकाशित मिति : सोमवार, साउन २५, २०८३
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विल शार्फलाई राष्ट्रपतिको सहायक र ह्वाइट हाउस काउन्सिल (मुख्य कानूनी सल्लाहकार) नियुक्त गर्ने घोषणा गरेका छन्। आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सो जानकारी दिएका हुन्।
हाल ह्वाइट हाउसको स्टाफ सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका शार्फले यसअघि नेसनल क्यापिटल प्लानिङ कमिसनको अध्यक्षका रूपमा समेत सेवा गरिसकेका छन्। नियुक्तिको घोषणा गर्दै ट्रम्पले शार्फको कार्यक्षमताको प्रशंसा गरेका छन्।
शार्फसँग संघीय अभियोजक र निजी क्षेत्रमा अधिवक्ताका रूपमा काम गरेको लामो अनुभव छ। उनले दुईवटा संघीय पुनरावेदन अदालतका न्यायाधीशहरूको कानूनी सहयोगी (क्लर्क) का रूपमा समेत काम गरेका थिए। ट्रम्पका अनुसार शार्फले बाइडेन प्रशासनको समयमा आफ्ना विरुद्ध चलाइएका विभिन्न कानुनी मुद्दाहरूमा सर्वोच्च अदालतसम्म उनको पक्षबाट प्रतिनिधित्व गरेका थिए।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार शार्फले ह्वाइट हाउसको ४० करोड डलर लागतको बलरुम परियोजना स्वीकृत गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, वासिङ्टन डिसीको संघीय पुनरावेदन अदालतले हालै उक्त परियोजनालाई गैरकानूनी ठहर गरेको छ र यो मुद्दा छिट्टै सर्वोच्च अदालत पुग्न सक्ने सम्भावना छ।
शार्फले डेभिड वारिङ्टनको स्थान लिनेछन्, जो अब निजी क्षेत्रमा आबद्ध हुन लागेको ट्रम्पले उल्लेख गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij