आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छापामार शैलीमा पत्रकार गिरफ्तार : अनेरास्ववियू

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३



  • अनेरास्ववियूले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक एवम् विश्व प्रेस काउन्सिल संघका उपाध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष महेश श्रेष्ठले किशोरलाई गएराति छापामार शैलीमा राज्य संयन्त्रको प्रयोग गरी गिरफ्तार गरिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    मौलिक हक तथा प्रेस स्वतन्त्रताको सम्मान गर्नु लोकतान्त्रिक राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै संगठनले कुनै समाचार वा सम्पादकीय सामग्रीप्रति असहमति वा आपत्ति भए विद्यमान कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने जनाएको छ।

    प्रेस काउन्सिलमार्फत् आवश्यक उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई गिरफ्तार गर्ने, कार्यालय तथा निवासमा छापा मार्ने र सामग्रीहरू जफत गर्ने कार्य लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता तथा कानुनी शासनको मर्मविपरीत रहेको अनेरास्ववियूको भनाइ छ।

    विज्ञप्तिमा राज्य संयन्त्रको दुरुपयोग गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तत्काल बन्द गर्न माग गरिएको छ । साथै वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब र निःशर्त रिहा गर्न अनेरास्ववियूले जोडदार माग गरेको छ।

    अनेरास्ववियूले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत आवश्यकताका विषयमा गम्भीर हुनुपर्ने अवस्थामा जनताको आवाज उठाउने सञ्चारमाध्यम तथा पत्रकारमाथि दबाब र हस्तक्षेप बढाउनु चिन्ताजनक भएको जनाएको छ।

    गरिब तथा विपन्न नागरिकका घरमा चुलो बाल्न कठिन भइरहेको, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा समस्या देखिएको तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि दिनप्रतिदिन कमजोर हुँदै गएको विषयलाई बेवास्ता गर्दै आफ्ना गलत क्रियाकलापको आलोचना गर्ने आवाजलाई राज्यशक्तिको दुरुपयोगमार्फत दबाउने प्रयास स्वीकार्य हुन नसक्ने संगठनले जनाएको छ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार, लोकतान्त्रिक मूल्य र कानुनी शासनको पक्षमा अनेरास्ववियू सदैव दृढतापूर्वक उभिने विज्ञप्तिमा उल्लेख छ।

    अनेरास्ववियूले किशोर श्रेष्ठको अविलम्ब र निःशर्त रिहाइ तथा प्रेस स्वतन्त्रताको पूर्ण सम्मानका लागि सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij