प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन्।
बैठकमा सांसद तामाङले यसअघि उठाएका विभिन्न विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफमा चित्त नबुझेपछि सांसद तामाङले थप प्रश्न गर्नका लागि समय माग गरेकी थिइन्।
तर, सभामुख अर्यालले संसद्को नियमावलीको व्यवस्था स्मरण गराउँदै मन्त्रीको जवाफमाथि थप प्रश्न गर्ने वा स्पष्टीकरण लिने व्यवस्था नरहेको जानकारी गराएका थिए। सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायमै राखेकी थिइन्।
स्थिति असहज बन्दै गएपछि सभामुखले संसद्को गरिमा र संसदीय मर्यादाको पालना गर्न सांसद तामाङलाई सचेत गराएका थिए। सभामुखबाट बोल्ने समय प्राप्त नभएपछि सांसद तामाङ बैठक कक्षबाट बाहिरिएकी थिइन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij