प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३
पोखरा/ पोखरामा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भिडियो उनको सुरक्षार्थ खटिएको नेपाली सेनाले पत्रकारको क्यामराबाट हटाएको छ । आइतबार मुस्ताङबाट फर्किएपछि पोखरा-१४ मा रहेको मझेरी मन्जिल रिसोर्टमा बसेका प्रधानमन्त्री शाहको भिडियो मेरो साथी टीभी डटकमका पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गरेका थिए ।
विजयपुर खोलानजिकै रहेको रिसोर्टको पारिपट्टिबाट आफूले भिडियो खिचिरहेको देखेपछि सेना गाडी लिएर आएको र क्यामेराबाट भिडियो हटाउन लगाएको सुनारले बताए । ‘रिसोर्ट परिसरमा बाहिर बसिरहेको भिडियो खिचेको थिएँ,’ उनले भने, ‘मेरो क्यामेरामा खिचिएको भिडियो हेर्दै एक–एक गर्दै डिलिट गर्न लगाइयो ।’ यसअघि रिसोर्टको गेटअघिबाट भिडियो खिच्न नदिएपछि पारिपट्टिबाट भिडियो खिचेको र सेनाले ‘निजी भ्रमण’ भन्दै भिडियो हटाउन लगाएको उनले बताए । उनले भने, ‘सेनाले त्यस्तो गर्नु हुँदैनथ्यो ।’
सेनाकै सुरक्षामा शुक्रबार प्रधानमन्त्री शाह आफ्नो परिवार र सचिवालयको टिमसहित पोखरा आएका थिए । मुस्ताङ जाने क्रममा उनी एक रात पोखरा नजिकैको माछापुच्छ्रे गाउँपालिकाको अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज लजमा बास बसेका थिए । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री खडकराज पौडेल (गनेस) पनि सँगै थिए । प्रधानमन्त्री पुग्नुअगावै सेनाको एक टोली इको भिलेज पुगेर सुरक्षामा खटिएको थियो । सेनाले लजका कर्मचारी र सञ्चालकलाई परिचयपत्रका आधारमा प्रवेश दिएको थियो भने अन्यलाई आउजाउ गर्न रोक लगाएको थियो । सञ्चारकर्मीलाई लजभन्दा आधा किलोमिटर वरै रोकिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij