बुधबार, भदौ १०, २०८३ | Wednesday 26th August 2026

भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३



  • काठमाडौं। चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन्। चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्ने देखिएको छ। प्रशासनले नदी किनारमा माछा मार्ने, बालुवा निकाल्ने वा अन्य काममा संलग्न मजदुरहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। साथै, नदी तटीय क्षेत्रमा सञ्चालित आयोजनाहरू, कार्यालयहरू र त्यहाँ बसोबास गर्ने आम जनसमुदायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ।

    कुनै पनि विपद्जन्य घटना घटेमा वा जोखिम देखिएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अपिल गरेको छ।

    आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरीको १११४, र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ। प्रशासनले अर्को सूचना नआएसम्म नदी आसपासका क्षेत्रमा नजान र सुरक्षित रहन सबैलाई सचेत गराएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij