प्रकाशित मिति : शनिबार, अशोज ३, २०८३
‘ज्वाइँ राजा’ हात्तीका रूपमा चिनिएको ५३ वर्षीय रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर, सौराहाका प्रमुख मणिपुरन चौधरीका अनुसार बरण्डाभार वन क्षेत्रमा शनिबार बिहान उक्त हात्ती मृत अवस्थामा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको हुनसक्ने बताइएको छ । “बिजुलीको पोल ढालेछ । तर कसरी ढालेछ, त्यही करेन्ट लागेर ढलेछ,” उहाँले भन्नुभयो ।
यद्यपि, चितवन राष्ट्रिय निकुञ्जले भने हात्तीको मृत्युको कारणबारे अध्ययन भइरहेको जनाएको छ । रोनाल्डोको मृत्युले संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।
“प्रजनन केन्द्रमा मात्रै यो भाले हात्तीबाट ३३ वटा हात्तीका बच्चा जन्मिएका छन् । यसले हामीलाई धेरै दुःखी बनाएको छ,” उहाँले भन्नुभयो ।
सन् २००२ देखि रोनाल्डो चितवनमा देखिँदै आएको हो । सोही वर्षको विश्वकप फुटबलमा ब्राजिलका खेलाडी रोनाल्डो चर्चामा रहेकाले हात्ती सारका कर्मचारीहरूले उक्त जङ्गली हात्तीको नाम रोनाल्डो राखेका थिए ।
निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठले रोनाल्डोको मृत्युले संरक्षण क्षेत्रमा समेत क्षति पुगेको बताउनुभएको छ ।
रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा, विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको थियो । केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन गर्ने प्रमुख जङ्गली भाले हात्ती पनि यही थियो ।
रोनाल्डोले निकुञ्ज आसपासका स्थानीय बासिन्दा तथा हात्ती सुसारेमाथि समेत आक्रमण गर्ने गरेको बताइएको छ । निकुञ्जका अनुसार यो हात्तीको आक्रमणबाट हालसम्म १५ जनाको ज्यान गएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij