शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लमजुङको राईनस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित १० जना विरुद्ध अक्तियारमा मुद्दा दर्ता

  • प्रकाशित मिति : मङ्लबार, अशोज १३, २०८३



  • राइनासका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर
    काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
    आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राइनास नगरपालिकामा सूचीकृत २०७६/०७७ को कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सर्तसहित १६ लाख ७२ हजार रुपैयाँ ससर्त अनुदान उपलब्ध गराइएको थियो। उक्त रकममा तत्कालीन प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना, दुरुपयोग तथा हानिनोक्सानी गरी आफूहरूले गैरकानुनी रूपमा लाभ लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
    उनीहरूले आर्थिक वर्षको अन्तिम दिन प्रचलित कानुनविपरीत संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने ससर्त अनुदानबापत प्राप्त रकम फिर्ता नगरी तत्कालीन रोजगार संयोजकले पेस्की लिएको, सो रकम अन्य प्रतिवादीहरूको खातामा जम्मा गरेको र उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नै नगरी हालसम्म फर्छ्योट नगरेको आरोपपत्रमा उल्लेख छ।
    अख्तियारले उक्त प्रकरणमा मिलेमतो रहेको भन्दै राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं. १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरुङ, वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएको छ।
    साथै, न्यौपानेले आफू रोजगार संयोजक पदमा बहाल रहँदा राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा २०७७ कात्तिक १ देखि सो कार्यालयबाट बर्खास्त भए तापनि हालसम्म बरबुझारथ नगरेको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ। उक्त सामानको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको र सो बराबरको हानिनोक्सानी गरे–गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij