प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८३
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउँदै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
बुधबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक (IGP) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकसँगको व्यवहार सुधार गरी प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न निर्देशन दिएका हुन्।
उनले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहका क्रममा नागरिकसँग गरिने व्यवहारमा विशेष संवेदनशीलता अपनाउन आग्रह गरे।
गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिए। शान्ति सुव्यवस्था कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारीसँगै विपद् व्यवस्थापनमा समेत प्रहरीको सक्रियता आवश्यक रहेको उनले बताए।
विशेषगरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने फिल्डमा खटिएका प्रहरी कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सङ्गठनको तल्लो तहसम्म नागरिकमैत्री व्यवहार र जिम्मेवार कार्यसम्पादनलाई प्राथमिकता दिन निर्देशन दिए।
प्रहरी सङ्गठनले सकारात्मक काम गर्दा गृह मन्त्रालय सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै गुरुङले कार्यसम्पादनका क्रममा आइपर्ने समस्या समाधानमा आवश्यक सहयोग उपलब्ध गराइने बताए।
उनले प्रहरी नेतृत्वलाई संगठनको प्रभावकारिता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij