प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
२८-साउन / अवैधरुपमा वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर सञ्चालक छुटाउन प्रहरीलाई मोवाइल दिनुपर्छ भन्दै मोवाईल किनेर आफै राख्ने अर्का म्यानपावर व्यवसायी पक्राउ परेका छन् ।
अनुमति नभएका देशमा कामदार पठाइरहेको उजुरीका आधारमा पक्राउ परेका द रिभर ओभरसिज प्रालि घोराहीका संचालक चन्द्रबहादुर बुढाको मुद्दा मिलाउन प्रहरीलाई १३ हजार रुपैयाँको मोवाइल किनिदिने भन्दै पैसा लगेर मोवाइल किनेका गौरी शंकर ओभरसिज प्रालिका सञ्चालक यादव सैंघालीलाई प्रहरीले पक्रेको हो ।
प्रहरी हिरासतमा रहेका चन्द्रबहादुरलाई यादवले मोवाइल दिए प्रहरीले मुद्दा मिलाउने आश्वासन दिएको तर मोवाइल किनेपनि प्रहरीलाई नदिएर आफैं राखेको खुलासा भएपछि यादवलाई पक्रेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
उनीहरु दाङमा म्यानपावरका शाखा कार्यालय सञ्चालन गर्दै आएका छन् । सैघालीले मोवाईल लिएको र सो मोवाईल आफूसंगै राखेको भन्ने प्रहरी समक्ष स्विकार गरेकोले सैघालीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।
द रिभर ओभरसिज प्रालि घोराहीका संचालक चन्द्रबहादुर बुढाले बैदेशिक रोजगार बिभागबाट मानिस बिदेश पठाउन नपाउने गरि खारेज गरेपनि मानिस पठाएको भन्दै प्रहरीले केही दिन पहिले पक्राउ गरेको थियो ।
बैदेशिक रोजगार बिभागले बुढालाई अहिले एक लाख रुपैयाँ तिरेपछि धरौटीमा छोडेको छ । दाङ प्रहरीले अवैध धन्दामा लागेका म्यानपावर विरुद्ध कारबाही चलाउँदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij