प्रकाशित मिति : शनिबार, साउन २९, २०७३
वीरगन्ज नगर क्षेत्रको सडक, नाला र खुल्ला स्थानमा पिसाब गर्नेविरुद्ध विद्यार्थी र प्रहरीले अभियान चलाएका छन् । विधार्थी र प्रहरीको अभियानमा उपमहानगरपालिका कार्यालयले पनि साथ दिएको छ ।

अभियान अन्तर्गत शुक्रबार प्रहरीले नगरको नाला र खुल्ला स्थानमा पिसाब गर्ने ३६ जनालाइ नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाइ उपमहानगरपालिका कार्यालयले जनही एक सय रुपैयाँ जरीवाना लिएर छाडेको छ ।
नियन्त्रणमा लिएका मध्ये ३० जनाले एक सय रुपैयाँ दरले जरिवाना तिरेको र पैसा नभएका ६ जनाको भने जिल्ला प्रहरी कार्यालय पर्सा आफैले जरीवाना तिरिदिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
शुक्रबार बिहान नेपाल प्रहरी, वीरगन्ज पब्लिक कलेज र उपमहानगरपालिका कार्यालयका नगर प्रहरी सम्मिलित पाँच वटा टोली नगर क्षेत्रको छुटटा छुटटै टोलमा खटिएको थियो ।
टोलीले सडक, नाला र खुल्ला स्थानमा पिसाब गरिरहेकै अवस्थामा ३६ जनालाई नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएकालाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक श्रेष्ठले चेतनामुलक शिक्षा दिए पछि उपमहानगरपालिका कार्यालयका कर्मचारीले जनही एक सय रुपैयाँका दरले जरिवाना असुलेर उनीहरुलाई छाडेको अभियानमा संलग्न वीरगन्ज पब्लिक कलेजका छात्र देवेश गुप्ताले बताए ।
खुल्ला स्थानमा पिसाब गर्नेलाई धरपकड गर्नु भन्दा दुई साता पहिलेदेखि नेपाल प्रहरी र वीरगन्ज पब्लिक कलेजका विधार्थीले नगर क्षेत्रमा सचेतनामुलक र्याली निकालेर सडक, नाला र खुल्ला स्थानमा दिशा पिसाब नगर्न नगरबासीसँग आग्रह गरेका थिए ।
प्रहरी र विधार्थीको आग्रहलाइ अटेर गरेपछि शुक्रबार देखि धरपकड अभियान नै चलाउनु परेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
नगरका विभिन्न स्थानमा उपमहानगरपालिका कार्यालयले सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाइसकेको र केही स्थानमा शौचालय बनाउने काम भइरहेको भन्दै प्रहरी उपरीक्षक श्रेष्ठले खुल्ला स्थानमा पिसाब गर्नेलाई नियन्त्रणमा लिएर जरीवाना लिएर छाडने अभियानलाई निरन्तरता दिइने उनले बाए ।
खुल्ला स्थानमा दिशा पिसाब गर्ने प्रवृतिका कारण नगर क्षेत्र दुर्गन्धित र कुरुप नै भएपछि अभियान चलाइएको वीरगन्ज पब्लिक कलेजका छात्र देवेश गुप्ताले बताए । वीरगन्ज नगरलाई सुन्दर र स्वच्छ बनाउनकै लागि यो अभियान चलाइएको हो, प्रहरी उपरिक्षक श्रेष्ठले भने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij