प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा सो पार्टीको पाँचौ विस्तारित बैठक बालाजुमा बस्यो। त्यतिखेर सरकारमा जाने/नजाने विषयमा द्वन्द्व थियो, जसलाई माओवादीले दुई लाइन संघर्षको नाम दिएको थियो।
बैठकमा तत्कालीन माओवादीका नेता नेत्र विक्रम चन्द ‘विप्लव’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै भनेका थिए,‘पार्टी बलियो बनाउनुपर्छ, त्यसको जिम्मा मलाई दिनुस्, मेरो साथमा अरू १०० जना युवा छोडिदिनुस्, अरू सबै सरकारमा जानुस्।’
त्यतिखेर एकजना युवा जुरुक्क उठे र भने, ‘विप्लव दाइ, पार्टीसँग अरू ९९ जना माग्नुस् म तपाईंसँगै छु।’
ती युवा थिए, माइला लामा। सोही बेलादेखि विप्लवसँग नजिक रहेका लामाले कहिल्यै पनि उनको साथ छोडेनन्।
कतिसम्म भने पार्टीको दोस्रो बरियताका नेता मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी फुट्दा उनको पारिवारीक जीवनमा ठूलो समस्या आयो। माओवादीमै आवद्ध उनकी श्रीमती मनु लामासँग मतभेद भयो। अन्ततः पार्टी या श्रीमती रोज्नुपर्ने स्थिति आउँदा उनले श्रीमतीलाई मूल पार्टीमै छोडेर वैद्य समूहको माओवादीमा गए।
‘त्यसयता उनले काठमाडौं भीमढुंगामा रहेको घरमा आउजाउ निक्कै पातलो बनाए, बरु वैद्य हुँदै विप्लवले बनाएको नयाँ पार्टीमा आवद्ध भए,’ विप्लव नेतृत्वको नेकपा एक नेताले सेतोपाटीलाई भने, ‘लामाले विप्लवको विश्वास जितेका थिए। उनी पक्राउ पर्नु हाम्रा लागि ठूलो घाटा हो।’
नेकपामा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आर्थिक विभाग प्रमुख भएता पनि केहीअघिसम्म भूमिगत बसेका महासचिव विप्लवका लागि आवश्यक खर्च पठाउने काम लामाले नै गर्थे।
पक्राउ पर्नुअघिसम्म पनि पार्टीको आर्थिक हरहिसाब मिलाउन चन्दा संकलन गर्ने काम लामाकै थियो। उनी ललितपुरस्थित नख्खुको एनसेल टावर र घट्टेकुलो बम बिष्फोट घटनाका मुख्य योजनाकार हुन भन्ने अभियोग प्रहरीको छ।
नेकपाले पनि उक्त कुरा स्वीकारेको छ। नेकपाको समीक्षा त कतिसम्म छ भने ‘घट्टेकुलो र सुकेधारामा भएका विष्फोटहरूमा पार्टीको गम्भीर भुल भएकै हो तर सर्वसाधरणको ज्यान जानुभन्दा आफ्नै साथीहरू गुमायौँ ठीकै भयो।’
काठमाडौं उपत्यकाको इन्चार्ज भएकाले काठमाडौं, भक्तपुर र ललितपुरमा चन्दा उठाउने नेतृत्व र योजना लामाले नै गर्थे। लामाको पक्राउ विप्लव समूह र प्रहरीका लागि आ-आफ्नो दृष्टिकोणबाट महत्वपूर्ण छ। विप्लव समूहलाई ठूलो घाटा भएको छ भने प्रहरीचाहिँ उपत्यकामा हुने चन्दा असुलीका घटना अब कम हुँदै जानेमा आशावादी देखिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij