प्रकाशित मिति : आइतवार, साउन १२, २०७६
सिरहा। प्रदेश २ का उद्याेग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका बाढी पीडितलाई शनिवार राहत वितरण गरेका छन्।
प्रदेश सरकारको राहत राज्यमन्त्री मण्डलले इटारी प्रसाहीका ६ सय बाढी पीडितलाई बाँडेका हुन्। प्रति बाढी परिवारलाई २५ किलो चामल, २ किलो चना, १ लिटर तेल, ४ किलो दाल, चटाइ, झुल र लुगा धुने तथा नुहाउने सावुन १÷१ थान सहितका राहत सामग्री बाँडिएका छन्।
असारको अन्तिम साता कमला नदीमा आएको भिषण बाढी गाउँ पसेपछि यस क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो। तर हालसम्म संघीय सरकारले राहत बाँडेका छैन । राज्यमन्त्री मण्डलले आफ्नो प्रयासमा प्रदेश सरकारको राहत बाँडेका छन्।
अहिले पनि कैयौं बाढी पीडितहरु विद्यालयमा बसिरहेका छन्। घर नै भत्केपछि उनीहरु विद्यालयमा बस्न बाध्य भएका हुन् । पीडितहरुले घर बनाइदिन संघीय सरकारसँग माग गरेका छन्। राज्यमन्त्री मण्डलले घर निर्माणका लागि पहल जारी राखेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij