प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३
वीरगन्ज – वीरगन्जको बजारमा विगत पाँच दिन देखि पेट्रोलको कृत्रिम अभाव देखिएको छ ।
वीरगन्जमा रहेका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल छैन भन्ने सुचना लेखिएको बोर्ड झुण्डयाइएको छ । वीरगन्जको छपकैयामा रहेको दुर्गा आयल , बाइपास सडकमा रहेको पशुपति आयल , श्रीपुरमा रहेको कमल विनायक आयल , पावर हाउस चोकमा रहेको केडिया आयल , गण्डक चोकमा रहेको अटो केयर लगायतका पेट्रोल पम्पहरुले गत बुधबार देखि नै पेट्रोलको विक्री वितरण ठप्प पारेका हुन् ।
पम्पमा पुग्ने मोटरसाइकल र साना सवारी साधनहरुलाइ पम्पका सन्चालकहरुले पेट्रोल छैन भनेर फर्कादिने गरेका छन् । बुधबार देखि पेट्रोल पम्पहरुमा पेट्रोलको बिक्री वितरण ठप्प भएपनि भारतबाट वीरगन्ज नाका हुदै आयात हुने पेट्रोलको परिमाणमा भने कुनै कमी आएको छैन ।
त्यस्तै वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले पनि पर्सा र बाराका पेट्रोल पम्पहरुलाइ बजारको माग भन्दा बढि नै परिमाणमा पेट्रोल वितरण गर्दै आएको छ । भारतबाट वीरगन्ज नाका हुदै गत बुधबार देखि हिजो शनिवार सम्म चार दिनको अवधीमा ६१ लाख ६७ हजार लिटर पेट्रोल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
यस्तै चार दिनको अवधीमा पर्सा र बाराका पेट्रोल पम्पहरुलाइ वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले एक लाख २० हजार लिटर पेट्रोल वितरण गरेको छ । पर्सा र बारामा दैनिक २४ देखि ३६ हजार लिटर पेट्रोलको माग भएपनि आयल निगमले दैनिक ६० हजार लिटर पेट्रोल , पेट्रोल पम्पहरुलाइ वितरण गर्दै आएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अभिषेक ठाकुरले बताउनु भयो । पछिल्लो समयमा दुवै जिल्लामा माग केहि बढेकाले बजारमा पेट्रोलको अभाव भएको हुन सक्ने उनले बताए ।
उपभोक्ताहरुले भने आयल निगमले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराउदै आएको भएपनि पेट्रोल पम्पहरुले कृत्रिम अभाव सृजना गरेको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बजारमा देखिएको पेट्रोलको अभावका बारेमा पेट्रोल पम्पहरुमा अनुगमन गरिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij