प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री हुनुहुुन्थ्यो ।
सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ ।
मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।
दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij