शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

    हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अधुरै छ । पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामासाल्पा शेर्पा कम्पनीले ठेक्का लिएको तर नौ वर्ष बित्दासमेत पुल बन्न सकेको छैन । चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दासमेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ ।

    निर्माण सुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका-३ का सीताराम चौधरी बताउँछन् । ‘पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुङ्गा तर्नुपर्ने समस्या छ’, सीताराम भन्छन् , ‘‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुङ्गा चढ्नु ? पुल नहुँदा निकै दुःख पाइयो ।’

    भजनी नगरपालिकाको वडा नं ५ र ७ का स्थानीयवासीलाई नगरपालिकामा आउन त्यो नदी तर्नैपर्ने हुन्छ । नदी तर्न निकै समस्या हुने गरेको वडा नं ७ का श्यामलाल थारू बताउँछन्, ‘हामीलाई सबैभन्दा बढी पीडा नदी तर्नकै छ । दुःख बिमार हुँदा हामी भजनी जान सक्दैनौँ । आपतकालीन अवस्थामा रातिको समयमा नदी तर्न सकिँदैन’, श्यामलालले भन्नुभयो, “कसैलाई सुत्केरी व्यथा लागे हामी राति अस्पतालसम्म पुर्याउन सक्दैनौँ । पुल बन्ने आशा पनि मरेको छैन ।’

    लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक-पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीय जयबहादुर बुढाको माग छ । ‘समयमै निर्माण सक्नुपर्ने हो, नौ वर्षसम्म पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्नुपर्छ’, उनी भन्छन्, ‘सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’

    बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नोतर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ । शुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

    कोराना महामारीका कारण केही समस्या आए पनि यस आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावत बताउँछन् । ‘पहिलो वर्ष विवाद भएर काम गर्न सकिएन’, रावत भन्छन्, ‘यस वर्ष निर्माण सक्छौँ । यसअघि जेजे भयो, अब यस वर्ष सक्ने गरी काम थालेका छौँ ।’

    हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार रु चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ । भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याई कारवाही नगर्दासम्म यस्ता समस्या आइरहने स्थानीयवासी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij