प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८
चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन ल्हासाबाट तातोपानीका लागि प्रस्थान भएको छ।
ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी पठाइएको जानकारी गराएको छ।
तातोपानी भन्सारका अनुसार सामानको तौल ३० मेट्रिक टन रहेको छ।
लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने महावाणिज्य दूतावासले जानकारी दिएको छ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने, ‘महावाणिज्य दूतावासले लिक्विड अक्सिजन स्थलमार्गबाट प्रस्थान भएको जानकारी दिएको छ।’
केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेको थियो।
अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको गौतमले जानकारी दिए।
तातोपानी नाकामा आएपछि लिक्विड अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरिने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले सो सामग्री बुझ्नेछन्।
नेपालमा निजीस्तरका उद्योगहरूले दैनिक आठ हजार सिलिन्डर बढी अक्सिजन उत्पादन गर्दै आएका छन्।
अनुदानमा आउने लिक्विडले कोरोना महामारीको बेला भइरहेको अक्सिजनको अभाव टार्ने विश्वास गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij