प्रकाशित मिति : बुधबार, असार २, २०७८
स्याङ्जा, असार २ । अबिरल बर्षासँगै आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ सेतिवेणी बजारका ८ घर बगाएको छ ।
बुधबार बिहान कालिगण्डकी नदीको बाढी बजारमा पसेको हो ।
जसको कारण ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी कालीगण्डकी नदीमा आएको बाढीका कारण सेतीवेणी बजार डुवानको उच्च जोखिममा रहेको भन्दै कालीगण्डकी ए जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको छ ।
कालीगण्डकी नदीमा पानीको सतह उच्च रहेको कारण तीनवटा टर्बाइनबाट उत्पादन हुने १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो ।
‘विद्युत् उत्पादन गर्दा जलाशयमा पानी थुन्नुपर्ने हुन्छ। यहाँ पानी थुनियो भने सेतीबेनी बजार अझै जोखिममा पर्न सक्छ,’ आयोजना प्रमुख पशुपति गौतमले भने, ‘त्यसैले उत्पादनलाई शून्यमा झारेका हौं।’
अविरल वर्षाको कारण बुधबार १८ घरधुरी डुबानमा परेका छन् । त्यस्तै, आठ घरपूर्ण रुपमा क्षति भएको छ ।
धार्मिक तथा पर्यटकिय हिसाबले पनि निकै लोकप्रिय मानिने विश्वको सबैभन्दा ठूलो शालिग्राम शिला समेत डुबानमा परेको छ ।
यस्तै, पर्वत र स्याङ्जाको भुभागमा रहेको सेतीबेनी बजार क्षेत्रका बासिन्दा रातभरि सुत्न समेत पाएका छैनन् ।
कालीगण्डकीको बाढीले ८ घर बगायो, कालीगण्डकी ए जलविद्युत केन्द्र बन्द
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij