प्रकाशित मिति : बुधबार, साउन २०, २०७८
काठमाडौं । धेरैलाई आश्चर्यमा पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे ।
खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करीब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् । करीब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिंदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका थिए ।
तर यस पटक भने खड्काले अब नेपालका लागि नै नखेल्ने निर्णय गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।
पारसले आफूलाई नेपाली क्रिकेटमै सम्भवत: सबैभन्दा उत्कृष्ट खेलाडी सावित गरेका छन् । उत्कृष्ट कप्तान, नेपाली क्रिकेटको पोष्टर ब्वाइ अनि क्रिकेटर मात्र नभई सेलिब्रिटी खेलाडीको पहिचान समेत बनाएका पारसको संन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको उनीसँगै डेब्यु गरेका विकास दली बताउँछन् । ‘अपेक्षा विपरीत । समय भएको थिएन । एउटा युगकै अन्त्य भयो । अहिले नेपाललाई उसको खाँचो छ कम्तीमा दुई वर्ष’ पारससँगै २००४ मा डेब्यु गरेका दलीले अनलाइनखबरसँग भने ।
सन् २००० को दशकदेखि खेल्ने खेलाडीमा अब वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी मात्र बाँकी छन् । शरद र बसन्त राष्ट्रिय टिममा नियमित रुपमै पर्न छाडिसके ।
नेपाली क्रिकेट अहिले पुस्ता हस्तान्तरणको प्रक्रियामा रहेको बेला पारसको संन्यासले ठूलो अर्थ राख्छ । एउटा खेलाडीले निश्चित समय आएपछि खेल्न छाड्नु नियमित प्रक्रिया नै हो । तर जसरी पारसले नेपाली क्रिकेटलाई एक दशकसम्म हाँके, डेढ दशक राष्ट्रिय टिमबाट खेले, त्यसमा उनको योगदान अमूल्य छ ।
सन् २००२ मा उमेर समूहबाट क्रिकेट खेल्न सुरु गरेका पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमार्फत सिनियर टिममा डेब्यु गरेका थिए । सन् २००९ मा २२ वर्षको उमेरमै सिनियर टिमको कप्तान बनेका पारसले आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धि दिलाए ।
सन् २०२० मार्चमा थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन नै राष्ट्रिय टिममा पारसको लागि अन्तिम खेल बन्यो । गत वैशाखमा घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिज नेपालले जित्दा पारस टिममा थिएनन् । उनले चोटका कारण टिमबाट नाम फिर्ता लिएका थिए ।
किन संन्यास ?
खेलाडीका लागि संन्यास घोषणा गर्नु सबैभन्दा गाह्रो काम हो । तर त्यसको लागि पनि समय भने पक्कै आउँछ । पारसले पनि किन अहिले संन्यास लिए भन्ने विषय सामाजिक सञ्जालमै खुलाएका छन् ।
‘किन अहिले? किनकि यो समयको कुरा हो । क्रिकेटरको रुपमा मैले आफ्नो मन वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मेले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौं’ पारसले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।’
पारसले २००२ देखि सुरु गरेको क्रिकेट यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा पछिल्लो १८ वर्ष साथ, समर्थन माया र हौसला दिने प्रशिक्षक, साथी, खेलाडी, प्रशंसक, सरोकारवाला, मिडियाकर्मी, मेरो परिवारप्रति म सदैव ऋणी रहनेछु ।’
२२ वर्षमै कप्तान
सन् २००९ मा भएको एसीसी टी-२० कपका लागि युवा अलराउण्डर पारस खड्कालाई सिनियर टिमको कप्तानको भूमिका दिइयो, त्यतिबेला पारस २२ वर्षका थिए । टिममा तात्कालीन कप्तान विनोद दास लगायत सिनियर खेलाडीहरु थिए । पारस यू-१९ टिमबाट ग्राजुयट मात्र भएका थिए ।
पारस सिनियर टिमको कप्तान चयन हुँदा टिममा विनोद दास लगायत शक्ति गौचन, मेहबुब आलम,बसन्त रेग्मी जस्ता सिनियर खेलाडीहरु पनि थिए।
तर पारसले नयाँ चुनौती सामना गर्दै नेपाली टिमलाई एक दशकसम्म निरन्तर नेतृत्व दिए । उनले एक दशक कप्तानी गर्दै २०१९ मा उक्त पदबाट राजीनामा दिएका थिए । यही समयमा नेपाली क्रिकेटले मैदानभित्र र मैदान बाहिर ठूलो आरोह/अवरोहहरुको सामना गर्यो ।
पारसको कप्तानीको बारेमा कुरा गर्दा झण्डै दुई वर्षअघि पूर्व कप्तान विनोद दासले भने थिए- पारस नेपाली क्रिकेटले उत्पादन गरेको अहिलेसम्मकै फाइनेस्ट खेलाडी हुन् र नेतृत्व गर्ने पनि उनी नै अहिलेसम्मको सफल कप्तान हुन्। मैले प्रमाण दिइराख्न पर्दैन ।
पारसलाई एसोसिएट क्रिकेटकै सबैभन्दा उत्कृष्ट कप्ताको रुपमा समेत व्याख्या गरिंदै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij