शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बग्दाबग्दै राधाले आफ्नो श्रीमानलाई फोनमा भनिन्- बाबुको ड्याडी, हामीलाई खोलाले बगायो बचाउनुहोस्!

  • प्रकाशित मिति : शुक्रबार, भदौ १८, २०७८



  • दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवर बुधबार साथीभाइसँग पार्टीमा रमाइरहेका थिए।

    डिलक्स गाडी किन्न चार लाख बैना गरेका उनलाई साथीभाइले खुसियाली मनाउन भनेपछि चोककै एक गेष्ट हाउसमा जमघट कार्यक्रम राखेका थिए।

    उनीहरू रमाइरहेकै थिए। त्यही बीचमा नेपालगन्जबाट घर आउँदै गरेकी पत्नी राधाले फोन गरिन्।

    ‘बुढो तपाईंले गाडी ल्याउनुभयो कि नाइँ?’

    रमेशले जवाफ दिए, ‘गाडी ल्याइसकेँ।’

    त्यसपछि राधाले भनिन्, ‘हामी आउँदैछौं, त्यसो भए तपाईं घर गएर खाना बनाउँदै गर्नुहोला।’

    त्यसपछि रमेश त्यहाँको खाजा नास्ताको बिल तिरेर घरतिर लागे।

    पत्नी राधाकै आग्रहमा रमेशले मिठो-मसिनो खानेकुरा तयार पारे। रात छिप्पिँदै गएपछि रमेशले छोरालाई खाना खुवाए। १३ वर्षे अंकित घोराहीकै जनज्योति बोर्डिङमा कक्षा ७ मा पढ्दैछन्।

    रातको ९:३५ बजे राधाले फेरि रमेशलाई फोन गरिन्।

    ‘लौ, बाबुको ड्याडी, अब हामी कुइरेपानी आइपुग्यौं, केही बेरमै घर आइपुग्छौं है।’

    घोराही १३ कै नरबहादुर पुनले चलाएको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कारमा ३३ वर्षीया राधा कुँवरसँगै उनकी ३५ वर्षीया सहोदर दिदी सुशीला श्रेष्ठ, रमेशकी ठूली आमाकी छोरी बिमला केसी र सुशीलाकी साथी रितामाया पुन तीजका लागि आवश्यक लत्ताकपडा र सरसामान किनेर घर फर्किरहेका थिए।

    त्यसको दस मिनेटपछि आत्तिँदै राधाले रमेशलाई फेरि फोन गरिन्।

    ‘बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’

    त्यही बीचमा राधाकी दिदीले भनिन्, ‘ज्वाइँ हामीलाई खोलाले बगायो, तर तपाईं नआत्तिनुहोला।’

    त्यसपछि फोन सम्पर्क हुन सकेन। रमेशलाई के गरौं, कसो गरौं भयो। तत्कालै उनले अघिसँगै बसेका साथीहरूलाई फोन गरे। उनीहरू अझै होटेलमै रहेछन्।

    रमेशले भने, ‘तिमीहरूको भाउजू राधालाई खोलाले बगायो रे, तुरून्त सिस्ने खोलामा पुगिहाल।’

    गाडी लिएर उनीहरू तीव्र गतिमा घोराहीदेखि करिब साढे ३ किलोमिटर टाढाको सिस्ने खोला पुगे। रमेश मोटरसाइकलमा एक्लै घटनास्थलतर्फ लागे। चोकमा ड्युटीमा बसेका प्रहरीलाई घटनाबारे जानकारी दिए। ९ मिनेटपछि उनी पनि घटनास्थल पुगे।

    खोलामा भेल आएको थियो। पस्न सक्ने अवस्थै थिएन। पहिलै त्यहाँ पुगिसकेका साथीहरू यताउता गरिरहेका थिए। तर पनि खोलामै पसेर भेलमा खोज्न थाले। निकै बेरसम्म खोजे पनि सुशीला र राधाका दिदीबहिनी फेला परेनन्। रात छिप्पिसकेको थियो। सबैले सम्झाइ-बुझाइ गरट्ठ रमेशलाई मध्यरात पछि घर ल्याए।

    सिस्ने खोलाको बाढीले कार बगाउँदा एकै साथ अस्ताएका दिदीबहिनी सुशीला श्रेष्ठ र राधा कुँवर।
    सुशीला र राधा घोराही १६ का वडा सदस्य जगत श्रेष्ठका छोरी हुन्। जेठी सुशीलाका सन्तान थिएनन्। श्रेष्ठ परिवारका दुई दिदीबहिनीबीच अगाध प्रेम थियो। सकेसम्म जहाँ पनि सँगै जाने गर्थे। तीजका लागि आवश्यक सरसामान किन्न भनेर उनीहरू बुधबार बिहान ७ बजे घरबाट नेपालगन्जतर्फ गएका थिए।

    चालक पुनकी श्रीमती पनि उक्त कारमा नेपालगन्ज सामान किनमेल गर्न जान भनेर आएकी थिइन्।

    ‘मैले यति सानो कारमा पाँच जना अटाइन्न कि, स्कार्पियो लग्नुपर्‍यो, नत्र यसमा हुँदैन भनेपछि चालककी श्रीमती त्यहीँबाट घर फर्किनुभएको हो,’ रमेशले सेतोपाटीसँग घटना विवरण सुनाउँदै भने।

    राधालाई रमेशले किनमेलका लागि भनेर १७ हजार रूपैयाँ दिएका थिए।

    ‘आफ्नो लागि साडी, आमालाई धोती, जिरा, दाल र एउटा प्रेसर कुकर पनि किनेर ल्याउने भन्दै राधा नेपालगन्ज गएकी थिइन्,’ रोदनमिश्रित स्वरमा रमेशले भने, ‘यस्तो होला भन्ने कहिलै कल्पना पनि गरेको थिएन। दैवको लिला देखेर पनि उदेक लागेर आउँछ।’

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको अगैया भन्ने ठाउँमा चालकसहित सबैले खाजा नास्ता खाएका थिए। त्यहाँ राप्तीको माछा प्रख्यात छ।

    ‘राधाले मेरा लागि अगैयाबाट माछासमेत ल्याइदिएको फोनमा भनेकी थिइन्,’ रमेशले रूँदै भने, ‘सायद उसको यतिसम्म मात्र लेखेको रहेछ।’

    रमेशको पुर्ख्यौली घर घोराही १६ सर्रामा पर्छ। हालै उनले घोराही १४ बुद्धि ग्यारेज नजिक नयाँ घर बनाएका थिए।

    ‘हामी नयाँ घर बनाएपछि असार ९ गतेदेखि यहाँ बस्न थालेका हौं,’ रमेशले भने, ‘त्यसैले हामीले नयाँ ठाउँमा बसाइँसराइ समेत ल्याएका छैनौं।’

    रमेशले आफू पाँच महिनाअगाडि मात्रै साउदी अरबबाट बिदामा घर फर्किएको बताए।

    ‘श्रीमतीको सल्लाहमा अब बिदेश नजाने भनेर गाडी किनेर ल्याएको थिएँ,’ रमेशले भने, ‘तर ममाथि दैव लाग्यो। यो सबै तक्दिरको खेल त होला नि।’

    सिस्ने खोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा चालकबाहेक कारमा सवार चारै जनाको ज्यान गएको थियो। प्रहरीले उनीहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij