प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७८
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे सरुवा भएकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो।
तर, कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन्। उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए।
डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ।
कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हाे।
मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन। यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए।
महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ । पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij