प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७८
एजेन्सी।अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो।
अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ। तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान सरकार बनेको हो।
अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग नगरेका हुन्। वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ।
अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन । तर तालिवान सरकारका अधिकारीहरुले भने आफुहरु अनुदार र अलोकतान्त्रीक नहुने दावी गर्दै आएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij