आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलालीमा ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पूर्ण खोप लगाए

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७८



  • काठमाडौं।कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।

    जसमध्ये चार लाख ७१ हजार ९२८ जनाले खोपको पहिलो मात्रा र चार लाख ३२ हजार जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । “खोप लगाउनेको सङ्ख्या बढ्दै गएको छ । हामीले खोपका कार्यक्रम नियमितरूपमा गरिरहेका छौँ”, धामीले भने “कैलाली कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा समेत सचेत भएका छन् ।”

    कैलाली जिल्लामा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ । बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए । “बालबालिकाको सङ्ख्याभन्दा केही मात्रा कम खोप आएको छ । हामीले थप माग गरेका छौँ”, धामीले भने, “सबै बालबालिकालाई समयमै खोप लगाउन सुरु गरिएको छ ।”

    कैलालीको टीकापुर नगरपालिकाले पनि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने भएको छ । १८ गतेदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले जानकारी दिए। “हरेक विद्यालय र पायक पर्ने विभिन्न स्थानमा खोप केन्द्र राखेर विद्यालय तथा समुदायमा रहेका बालबालिकालाई खोप लगाउँदैछौँ”, रावलले भने, “खोप लागउने भनेपछि अभिभावक र शिक्षक खुशी हुनुभएको छ । लामो समयदेखि बालबालिकालाई खोप माग गर्दै आएका अभिभावक तथा शिक्षकको मागसमेत पूरा भएको छ ।”

    टीकापुर नगरपालिकामा १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकलाई पहिलो मात्रा र ६६ प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाइसकेको रावलले बताए । यस्तै कैलालीकै जानकी गाउँपालिकाले पनि आजदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार ९४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । “कोरोना महामारी समुदायमा फैलिएपछि पुसको अन्त्यबाट बन्द भएका यहाँका विद्यालय खोप लगाएपछि खुल्ने आशा सबैमा छ”, चौधरीले भने, “बालबालिकाको सुरक्षा र शैक्षिक गतिविधि सञ्चालनका लागि पनि खोप आवश्यक थियो । हामीले खोप आउने बित्तिकै सुरु गर्न थालेका हौँ ।”

    कैलालीका सबैजसो पालिकामा यसै साताभित्रै खोप अभियान सञ्चालन हुने भएका छन् । अभिभावक खोप अभियान सञ्चालन हुन थाल्दा खुशी भएका छन् । विद्यालयले बालबालिकालाई सूचना गरी अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । “लामो समयदेखि पढाइ नहुँदा बालबालिका गाउँमा सडकमा खेलिरहेका हुन्थे, केही बालबालिका टेलिभिजन र मोबाइलमा ब्यस्त रहन्थे”, शिक्षक पूर्ण विक भन्नुहुन्छ, “खोपपछि विद्यालय नियमित भएमा बालबालिकाको शैक्षिक विकासमा असर पर्दैन ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij