प्रकाशित मिति : बुधबार, माघ २६, २०७८
म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ। समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो।
उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए। “गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,” उनले भने “थप पूर्वाधार निर्माण सुरु गर्न ताकेता र समन्वय गरेका छौ।”
टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।
ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ। क्रमागत योजनाको रुपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जनाएको छ।
रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दैं खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो।
गुराँसको जङ्गलको बिचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ।
झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो। योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो।
गाउँपालिकाका इञ्जिनीयर सुदिप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्नेस्थल सहितको उद्यान बनाउन लागिएको जानकारी दिए।
यसैगरी रु ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्सनसँग रु २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ। सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा विच्छ््याएर सोलिङ गर्ने योजना छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij