प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७८
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन्।
तर, निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ। पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकांक्षी बनेका छन् भने वडा सदस्यहरू अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्।
सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि २० लाखदेखि २५ लाखसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरू अन्योलमा परेका हुन्।
‘टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन,’ विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्यले भनिन्, ‘२५ लाख खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन्। घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिँदैन।’ महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको उनले बताइन्।
वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुङ्गाना पनि आफ्नो वडाध्यक्ष पदका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउँछिन्। विगतमा जनताको मन जितेकाले र फेरी मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निराश हुने परिस्थिति सिर्जना भएको उनी बताउँछिन्।
‘पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ,’ उनले भनिन्।
पैसाको आधारमा भन्दा पनि राजनीतिमा योगदानका आधारमा टिकट नदिए सक्षम र क्षमतावान् महिला राजनीतिबाट ओझेल पर्ने झापाली महिलाहरूको गुनासो छ। उनीहरूले चुनाव भड्किलो र खर्चिलो भएका कारण राजनीतिक भ्रष्टाचार मौलाउन थालेको टिप्पणी गरेका छन्।
झापामा मेचीनगर, विर्तामोड, भद्रपुर र दमक नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाका उपप्रमुखहरूले आगामी निर्वाचनमा मुख्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij