प्रकाशित मिति : शनिबार, बैशाख ३, २०७९
काठमाडौं ।चितवनको भरतपुर महानगरपालिकामा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजिनामाको घोषणा गरेका छन् ।
शनिबार भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजिनामाको घोषणा गरेका हुन् ।
भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार कांग्रेसबाट हुनुपर्ने भन्दै केन्द्रलाई दबाब दिन स्थानीय कार्यकर्ताले राजिनामा अभियान चलाएको बताइएको छ । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्त्वमा अभियान सञ्चालन भएको हो ।
गत बुधबार मात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए।
सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्।
मोरङमा पनि एक्लै चुनाव लड्नु पर्ने भन्दै कांग्रेस कार्यकर्ता धर्नामा !
दलीय गठबन्धनको आवश्यकता नरहेको जनाँउदै नेपाली कांग्रेसका कार्यकर्ता विराटनगरस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार धर्नामा बसेका छन्।
शनिबार विराटनगरस्थित जिल्ला पार्टी कार्यालयको प्राङ्गणमा विराटनगर–६ का स्थानीय युवा तथा कार्यकर्ता महानगरमा कांग्रेस एक्लै निर्वाचनमा भिड्नु पर्नेमा जोड दिँदै धर्नामा बसेका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij