प्रकाशित मिति : शुक्रबार, बैशाख २३, २०७९
डडेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।’
कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् ।
मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’
उनले मल्ल पक्षलाई निलो स्यालसँग तुलना गर्दै कथा पनि सुनाइन् ।
एकादेशमा एउटा स्याल थियो । एकदिन कुखुरा चोरी खान पाइन्छ कि भनेर गाउँतिर लागेछ । एउटा घरछेउ ठूलो ड्रममा नीलो रंग घोलेर राखेको रहेछ । ऊ दुर्घटनावश त्यो ड्रममा पसेछ । बाहिर निस्कँदा पूरै नीलो भएछ र त्यत्तिकै जंगलतिर लागेछ ।
जंगलमा पुगेर उसले आफू विषेश प्रजातीको बाघ हुँ भन्दै बाघको बथानमा बसेछ ।
तर, एक दिन जंगलमा स्याल कराएको आवाज आएछ । नीलो स्याल पनि आफ्नो जातीय विशेषताअनुसार चूप बस्न सकेनछ र ठूलो स्वरले कराएछ, जसले गर्दा बाघका सामू सबै पोल खुलेछ ।
मल्ल पक्ष यस्तै निलो स्याल भएको राणाको भनाइ थियो ।
कांग्रेस सभापति देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा किचलो बढेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा आइपुगेकी हुन् । त्यस लगत्तै बसपार्कमा भएको सभामा उनले विगतको तुलनामा डडेलधुरामा धेरै विकास भएको र यो सबै विकास देउवाले गरेको दाबी पनि गरिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij