प्रकाशित मिति : शुक्रबार, असार १०, २०७९
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले चुनढुङ्गा बोक्ने टिपरका लागि छुट्टै वैकल्पिक सडक निर्माण गर्ने भएको छ । चुनढुङ्गा बोक्ने टिपरहरूकै कारण सडकको कालोपत्र तीन महिना नपुग्दै उप्केर सडक धुलाम्मे हुने गरेको छ । स्थानीयवासीको दबाबका कारण पालिकाले सात महिनादेखि सिमेन्ट उद्योगका टिपर सञ्चालनमा रोक लगाएको छ ।
गाउँपालिकामा चार वटा सिमेन्ट उद्योगका चुनढुङ्गा खानी रहेका छन् । घोराही तापा सडकमा दैनिक झन्डै चार सय टिपर चल्ने पालिकाले जनाएको छ । पालिकाको नेतृत्व गर्न आएको नयाँ जनप्रतिनिधिको समूहले वैकल्पिक सडकका लागि चार वटा मार्गका बारेमा छलफल सुरु गरेको जनाएको छ ।
चार वटा सडक मध्येबाट एउटा छनोट गरी सडक खन्न सुरु गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिकाका अध्यक्ष सुवास पुनले जानकारी दिए । सिमेन्ट उद्योगले स्थानीयवासी र पालिकासँग गरेका सहमति कार्यान्वयन र वैकल्पिक सडकको सुनिश्चितता हुनासाथ खानी सञ्चालन गर्न दिने गाउँपालिकाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij