आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९



  • म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् ।

    उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

    “गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौँ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, “कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।”

    यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोका उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

    यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा सामुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताउछिन् ।

    दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।

    यस्तै रघुगङ्गा ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । वस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

    कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयमा नबन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

    यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडकखण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो ।

    चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

    गाउँपालिकाभित्र रहेका सबै २१६ वटा पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र स्थानीय तहले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij