आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुन्तला खेतीले धनी बन्दै दोसल्लेका किसान

  • प्रकाशित मिति : सोमवार, असार २७, २०७९



  • गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रुपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ। दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन्।

    गतवर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याएका स्थानीय किसान प्रेमबहादुर पाइजाले बताए। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्षसमेत रहनुभएका पाइजाका अनुसार पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ८० देखि १२० का दरले सुन्तला खरिद गरेर लगेका थिए।

    भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्ट्याउने गरेको उनको भनाइ छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए स्थानीय किसान कृष्ण पुनले भने,“एकदशकयता सबै घरपरिवारले सुन्तलाखेती गर्न थालेका छन् ।” खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उनले बताए।

    अहिले सुन्तला नलगाएको घर नै छैन मकै,धान र कोदोखेती गाउँबाट हरायो । पुनले भने,“सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको सङ्ख्या वृद्धि भएको छ।” गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उनको भनाइ छ।

    विगत १२ वर्षदेखि यहाँका किसानले सुन्तलाखेती गर्दै आएका छन्। पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखोबारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको किसानले बताएका छन्। वर्षमा मुस्किलले चार मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ६० हजार भन्दा बढी आम्दानी भएको किसान रमेश पुनले बताए।

    सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनले जानकारी दिए। दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो। कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ।

    बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण भएको थियो। सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि यहाँका किसान उत्साहित देखिएका छन्। निर्वाहमुखी कृषिबाट यहाँ व्यावसायिक कृषिको विकास भएको र यहाँका किसानको सिको उत्तरी म्याग्दीका अन्य ठाउँका किसानले पनि गर्न थालेका पाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij