प्रकाशित मिति : बिहिबार, साउन १२, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ । मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
आयोगको बुटवल र नेपालगन्जस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij