मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

चार दिन हिँडाएर पोखरा ल्याइँदै १२ हजार भेडाच्याङ्ग्रा

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७९



  • मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ।

    पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ।

    हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ।

    पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ।

    मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए।

    उनकाअनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ। च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उनले बताए।

    उनकाअनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन्।

    त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ।

    उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले दिए।

    पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आकर्षित बनेको देखिन्छ।

    ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ।

    सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ।

    पोखरामा घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ।

    भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ। मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताए।

    मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले बताए। विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ।

    हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए।

    अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए।

    पोखरामा च्याङ्ग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ। तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्याङ्ग्रा पनि ल्याउने गरेको पाइन्छ।

    तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्याङ्ग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रौबरबाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बूढापाका बताउँछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij