आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रोशनी र शरदको एकै साथ अन्त्येष्टि, कुकुरले भेटाएको थियो फोन

  • प्रकाशित मिति : बुधबार, कार्तिक २, २०७९



  • दाङमा हत्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ।

    तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो।

    उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्येष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको थियो।

    अन्त्येष्टिमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा एमाले नेतृ कोमल वली, एमाले नेता तथा ३(ख) मा उम्मेदवार हुकुमबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य भागवत विश्वासी, कांग्रेस महासमिति सदस्य बिमल रिजाललगायत उद्योगी व्यवसायी र ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए।

    विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको हत्यामा संलग्नहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्।

    उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानिसका आँखा रसाएका देखिन्थे।

    प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घटनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्‍त कुकुर ल्याइएको थियो। कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्‍ता डिएसपी राजन गौतमले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।

    ‘कुकुरको मद्दतले आज हामीले उनीहरूले प्रयोग गरेका मोबाइल, चप्पल लगायत केही कुराहरू फेला पारेका छौं,’ गौतमले भने ‘मोबाइल फोनबाट पनि घटना अनुसन्धानमा केही सजिलो हुने विश्वास छ।’

    डिएसपी मल्लले दिनहुँ कुनै न कुनै समय प्रहरी घटनास्थल पुग्ने गरेको, स्थानीयसँग विभिन्न सूचना संकलन गर्ने गरेको हुँदा छिट्टै अपराधी नजिक पुग्ने आशा व्यक्त गरे।

    प्रहरीले उनीहरूको फोन छुट्टाछुट्टै स्थानबाट फेला पारेको हो। घटनास्थल नियाल्दा पनि फोन थुतेर स्विचअफ गरी फालिएको प्रहरीको अनुमान छ।

    शव फेला परेकै दिन प्रहरीले हेटौंडाका टिपर चालकलाई नियन्त्रणमा लिएको थियो। उनले शरदका हजुरबुवालाई पटकपटक फोन गरेर नाति कहाँ छ भनेर सोधेको खुलेको थियो।

    उनको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार उनीहरू दुबै जना मिल्ने साथीहरू हुन्।

    ‘टिपर चालक सल्यानका आफ्ना साथीको घरमा पटक-पटक जाने मात्रै होइन, माइलो छोरा समान भनेर उनका अभिभावकले समेत माया गर्ने गरेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘उसैले नै सुरूमा घटनास्थलसम्म हामीलाई पुर्‍याएको हो।’

    ती युवकले भने प्रहरी समक्ष नबोलेको प्रहरीले बताए।

    प्रहरी स्रोतका अनुसार शरदका बुवा म्यानपावर व्यवसायी हुन्। शरदकी आमा र उनको छोडपत्र भइसकेको हुँदा शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए।

    प्रहरीले यसअघि नै घटनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने बताउँदै आएको छ।

    असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बेपत्ता भएको अधिकारीले बताएका छन्। २८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी मावली हजुआमाले नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।

    आशंका लागेर स्थानीय जंगलमा खोजी गर्ने क्रममा शरदका मावली हजुरबुवाले नै उनीहरूको शव एकै ठाउँमा चिरोमा माटोले छोपेको अवस्थामा फेला पारेका थिए। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा रहेको छ भने कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरको दुरीमा छ। तुलसीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा छ।
    setopati bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij