प्रकाशित मिति : सोमवार, पुस २५, २०७९
पहिले जंगलमा मात्रै पाइने कालिज अहिले गाउँ-शहरमा पाइन थालेका छन् । गाउँ-शहरमा कालिज पालन थालिएसंगै काजिल सजिलैसंग पाइन थालेका हुन् । जंगलमा पाइने कालिजलाई व्यवसायिक रुपमै पाल्न थालेपछि लाखौंको आम्दानी गर्नेको संख्यामा पनि वृद्धि हुन थालेको छ । विशेषगरी लामो सयमसम्म वैदेशिक रोजगारमा बसेकाहरु नेपाल फर्केर भिन्न पेसा गर्न रुचाउनेहरुले यो पेसा अंगालेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१२ गर्गरुवा निवासी तुल बहादुर बस्नेतले हिमालयन वाईल्ड लाइभ इग्रो प्रालि खोलेर व्यावसायिक कालिज पालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । उनीसंगै दाङका दुई जना, बाँकेका दुई जना र बर्दियाका दुई जना गरी ७ जना युवाहरुले व्यवसायीक रुपमा कालिज पालन गरेका छन् । उनीहरुले कालिज फर्म खोलेको करिब चार वर्ष पूरा हुन थालेको छ । एक हजार ३० वटा कालिजबाट पालन शुरु गरेको उनले बताए ।
८० लाखबाट सुरु गरेको कालिज पालन अहिलेसम्म दुई करोड लगानी पुगेको उनले बताए । दुई बिघा १० कठ्ठा जमिनलाई लिजमा लिएर व्यवसायीक रुपमा कालिज पालन गरेका बस्नेतले जग्गालाई वार्षिक ८० हजारमा १५ वर्षका लागि लिजमा लिएको बताएका छन् ।
दाङमा उत्पादन गरिएको कालिज पूर्वपश्चिमसम्म खपत हुने उनको भनाइ छ । तर विशेष गरेर बाँकेको नेपालगञ्ज, सुर्खेत, जुम्ला, जाजरकोट, डोल्पा लगायतका जिल्लामा पठाइराखेको उनले बताए । ‘कालिजलाई केजीको हिसाबमा भन्दा पनि प्रति गोटाका दरले बिक्री गर्ने गरेका छौं, प्रति गोटा भालेको २ हजार र पोथीको १२ सयमा बिक्री गर्छौ । कालिज ६ महिना भित्रमा खानलाई तयार हुन्छन्, उनले भने ।’ कालिज पालेर वार्षिक ८० देखि ९० लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।
‘यसअघि वैदेशिक रोजगारको शिलशिलामा मलेसिया गएको थिए । मलेसियाबाट केहि महिनाको लागि छुट्टिमा आएको समयमा नेपालगञ्जका साथीहरुले काजिल पाल्ने योजना ल्याउनु भयो । शुरु शुरुमा त मैले यस्तो चरा पालेर नि के आम्दानी होला भन्ने लागेको थियो । पछि साथीहरुले यसको बारेमा सबै प्राविधिक ज्ञान दिएपछि कालिज पालनमा मेरो आर्कषण बढ्यो । त्यसपछि आफ्नो जग्गा र आफ्नो अकंलको जग्गालाई लिजमा लिएर व्यवसायीक रुपमा काजिल पालन शुरु गरेका हौं, उनले भने ।’
सुरुवाती अवस्थामा कालिजका बच्चाहरु बाहिरी जिल्लाबाट ल्याए पनि अहिले भने आफुहरुले नै उत्पादन गर्ने गरेको उनले बताए । अहिले पनि आँफुहरुसंग भालेपोथी गरेर ६ हजार बढी कालिज रहेको उनको भनाइ छ । बच्चाहरुलाई ६ महिनासम्म बजारको दाना खुवाउने गरेको र पछि मकै, घाँस, पातपतिंगर खाने गरेको उनले बताए ।
त्यस्तै उनले नेपालमै बसेर केही व्यवसाय गर्छौ भन्ने युवाहरुलाई सरकारले कुनै पनि सहयोग नगरेकोमा दुखेसो व्यक्त गरेका छन् । युवाहरुले वैदेशिक रोजगारमा जानु भन्दा पनि नेपालमै केही गर्नु पर्छ भनेर व्यवसाय गर्दा पनि संघ, प्रदेश, स्थानीय सरकारबाट कुनै अनुदान नपाएको उनको जिकिर छ ।
सरकारबाट अनुदान पाउनका लागि नेताहरुको झोले वा नजिकको व्यक्ति भए मात्रै अनुदान पाउने सकिने उनले बताए । आफूहरुले अनुदानका लागि सम्बन्धित निकायमा गएपनि सरकारबाट दिइने कुनै पनि अनुदान आजसम्म नपाएको गुनासो व्यक्त गरे ।
त्यस्तै कालिज पालन गरेता पनि यसको बजारीकरण गर्न धेरै चुनौती रहेको उनले बताए । कालिज पंक्षी भएकोले अन्य जिल्लामा पठाउदा पुलिस प्रशासनले चेक पोष्टमा रोक्ने गरेको उनले बताए । आफ्नो कागजपत्रहरु भएता पनि पुलिस प्रशासनले समयसमयमा निकै सास्ती दिने गरेको बताए ।
‘यहाँबाट हामीले अन्य जिल्लामा प्राय राति पठाउछौँ, पठाउदा कम्पनी दर्ता भएको कागज, भेटेनेरी डाक्टरबाट परिक्षण भएको रिर्पोट र बिल पठाउछौं तर पनि पुलिस प्रशासनले कहिले के पुगेन् कहिले के पुगेन् भनेर सास्ती दिन्छ, बरु आर्मीहरुले त्यस्तो केही गर्दैनन्, उनले भने ।’
नेपालमा केही पनि गर्न सकिदैन् भन्ने युवाहरुका लागि बस्नेत उदाहरणका पात्र बनेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij