प्रकाशित मिति : सोमवार, माघ २, २०७९
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्। दसैं मनाएर काठमाडौं गएपछि घर आएकी थिइनन्।
सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्।
आइतबार बिहान साढे १० बजे काठमाडौंदेखि पोखरा उडान भरेको एटिआर ७२ जहाज आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका थियो। सिर्जनाको ड्युटी त्यही विमानमा थियो। दिनभर व्यस्त हुने भएकाले उनले भाउजू सरस्वतीलाई सोमबार मात्र काठमाडौं आउन भनिन्।
सिर्जनाले शनिबार दिउँसो आमा खिमिसरा र भाउजू सरस्वतीसँग मोबाइलमा लामै कुरा गरेकी थिइन्। माघे संक्रान्ति भएकाले सरस्वतीका हातमा आमाले खानेकुरा पठाइदिने भइन्। सेल र बटुक सिर्जनालाई साह्रै मनपर्ने भएकाले अलि धेरै पठाइदिनु भनिन्।
आइतबार माघे संक्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि बाक्लो हुस्सु थियो। शितलहरले आकाश ढाकेको थियो। खिमिसरा चिसो बेवास्ता गर्दै छोरीका लागि बटुक र सेलरोटी पकाउन थालिन्।
बिहान साढे ११ बजेतिर, उनी पकाउनमै व्यस्त थिइन्, खिमिसराको कानमा पर्यो- पोखरामा विमान खस्यो रे!
छोरीका लागि उनले बटुक र सेलरोटी पकाएर सकेकै थिइनन्, छोरीको जीवन नै सक्किएको खबर आइपुग्यो।
एक्ली छोरी गुमाउनुपर्दा खिमिसराको होसहवासै उड्यो। परिवार र उनको गाउँ नै स्तब्ध बनेको छ।
‘हिजो मात्र मोबाइलमा कुरा गरेकी थिई। ममी भाउजूसँग धेरै बटुक र रोटी पठाइदिनू है भनेकी थिई,’ खिमिसरा सिर्जनाले भनेका अन्तिम वाक्य सम्झिँदै भक्कानो छोडिरहेकी थिइन्। टोल छिमेकका महिला र आफन्तहरू उनलाई सम्झाइरहेका थिए।
तर छोरीको वियोगको पीडा सहनुपर्दा खिमिसराको विलौना थामिएको थिएन।
‘परिवारकै एउटी छोरी हो, मलाई कस्तो भएको छ के था अरूलाई? भिरबाट हाम फालेर मरौंजस्तो भएको छ,’ उनी भन्दै थिइन्।
भारतीय सेनाबाट अवकाश प्राप्त बुवा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका दुई दाजु र एक भाइ छन्। मामा एकबहादुर गाहाका अनुसार सिर्जना उनका तीन जना काका-बडाबाहरूकी पनि एक्ली छोरी थिइन्।
प्लस-टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट पढेकी उनले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक गरेकी थिइन्। स्नातकपछि बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहेकी थिइन्।
‘सानैदेखि पढाइमा अब्बल थिइन्। घरपरिवार र आफन्तका बीचमा पनि मिलनसार र सहयोगी भाव राख्थिन्,’ उनका मामा एकबहादुरले भने।
आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij