आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिदा मनाउन घर हिंडेका चिकित्सक दम्पतीको विमान दुर्घटनामा मृत्यु

  • प्रकाशित मिति : सोमवार, माघ २, २०७९



  • काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

    उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

    उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । ‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले भने, ‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइन सर्जन गुमाएका छौं ।’

    डा. मरासिनीले थपे, ‘उहाँ एक अनुशासित र इमानदार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुन्थ्यो ।’

    सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।

    ‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइनँ । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाए ।

    शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’ डा. जोशीले भने, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

    उनी साथीहरुसँग पोखरामै फर्किएर स्पाइन सर्जरी सेवा दिने सोच रहेको बताउने गरेको डा.जोशी बताउँछन् । स्पाइन सर्जरी सम्बन्धी फेलोसिपमा उनी सिंगापुर जाने तयारीमा थिए ।

    डा. सुशीलकी पत्नी डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी सुशीलका साथी डा.  जोशीले जनाकारी दिए ।

    डा. सोनाले त्यसका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा दिएकी थिइन् । जुन परीक्षा उनले पास गरिसकेकी थिइन् र कलेज छान्न मात्रै बाँकी रहेको थियो । तर, दुर्घटनामा निधन भएसँगै विशेषज्ञता हासिल गर्ने डा. सोनाको सपना पनि अधुरै भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij