प्रकाशित मिति : मङ्लबार, माघ १०, २०७९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही दिन अघि सूचना पुगेको थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस लिएर प्रवेश पास बनाइने गरेको छ ।’ यसमा विमानस्थल नागरिक उड्डयन कार्यालयका आन्तरिक टर्मिनल व्यवस्थापना शाखा प्रमुख पूर्णप्रसाद चुडाल नै संलग्न भएको अख्तियारको आशंका थियो ।
आयोगका एक जना अनुसन्धान अधिकृतका अनुसार त्यही अनुसार सोमबार अपराह्न एक जना सेवाग्राही चुडाल कहाँ प्रवेश पास बनाइदिन भन्दै पुगेका थिए ।
अधिकृतहरुसँग पहिल्यै सम्पर्क गरेका सेवाग्राही डेढ लाख रुपैयाँ बोकेर उनको कार्यकक्षमा छिरेका थिए । आयोगका एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गएको टोलीले ती रकमको नम्बर पहिल्यै नोट गरेको थियो ।
तर, जब आयोगको टोली चुडालको कार्यकक्षमा प्रवेश गर्यो, त्यसबेला त्यहाँ घुसवापत लिएको डेढ लाख रुपैयाँ भेटिएन । चुडालले पनि घुस लिएकोबारे अनविज्ञता प्रकट गरे ।
पूर्वतयारीसहित पुगेको आयोगको टोली रकमको खोजीमा जुट्यो । कार्यकक्षमा कतै रकम भेटिएन । अधिकृतहरुका अनुसार घुस दिएका व्यक्ति प्रवेश पास लिएर निस्किसकेका थिए ।
कार्यकक्ष अगाडि रहेको एउटा दराजमा चाबी लगाइएको थियो । अपरेशनमा खटिएका एक अधिकृतका अनुसार टोलीले दराजको चाबी माग्दा चुडालले आफूसँग नभएको बताए । त्यसपछि कर्मचारीहरुले आफैं ताला फुटाउने निधो गरे । त्यसक्रममा दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद भयो ।
अधिकृतहरुले त्यहाँबाट बरामद रकमलाई पहिले टिपिएका नोटका नम्बरसँग भिडाउने प्रयास गरे, तर कुनै नोटको अंक मिलेन । राति अवेरसम्म खोजी गर्दा पनि घुसवापतको डेढ लाख रुपैयाँ फेला नपरेपछि टोली चुडाललाई नियन्त्रणमा लिएर आयोगतिर गए ।
आयोगका एक अधिकृतका अनुसार बरामद ८ लाख रुपैयाँको स्रोत चुडालले खुलाउन सकेका छैनन् । घुसवापतको रकम कसरी गायब भयो भन्ने विषयमा मंगलबारबाट विस्तृत अनुसन्धान हुने अधिकृतहरु बताउँछन् । ‘क्यान्टिनतिरबाट कर्मचारीले नै गायब बनाएको जस्तो छ’, एक अधिकृतले भने, ‘अनुसन्धानका क्रममा त्यो पनि खुलिहाल्छ ।’
झापाको बाह्रदशी गाँपालिका-६, रुप्चनबाडी घर भएका चुडाल नवौंका कर्मचारी हुन् । उनी यसअघि झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख थिए । आयोगका कर्मचारीहरुका अनुसार उनले झापामा विभिन्न व्यवसायमा पनि लगानी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij