प्रकाशित मिति : मङ्लबार, माघ १०, २०७९
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा सि.सं. ४८ जुनियर एनसिसीका ५२८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आज आयोजित दिक्षान्त कवाज कार्यक्रममा उनीहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी हिरालाल जोशीले दिक्षित गरेका थिए ।
११ जिल्लाका १५ वटा विद्यालयका ५ सय २८ जना विद्यार्थीहरुलाई दिक्षित भएका हुन् । लुम्विनी प्रदेशका नवलपरासी, पूर्वी रुकुम, दाङ र बर्दिया, कर्णाली प्रदेशका रुकुम पश्चिम, हुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, बाजुरा र कञ्चनपुरका २६५ जना छात्र र २६२ जना छात्रा सहभागी भएका थिए । राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ६३ हजार ३४१ जना क्याडेट छात्रछात्राहरुलाई तालिम गराइसकेको छ ।
दिक्षान्त कवाज कार्यक्रमलाई सम्वोधन गर्दै उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले दिक्षित विद्यार्थीहरुलाई राष्ट्रिय एकताको भावनाप्रति प्रेरित हुन सुझाव दिए । विद्यार्थीहरुलाई अनुशासित, इमान्दारिता र बफादारितामा अडिक हुन सुझाव दिँदै विकास र समाजसेवाप्रति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले राष्ट्रिय एकता र सद्भावका लागि कहिँकतै नडगमगाउन पनि सुझाव दिए ।
आजका युवा भोलिका कर्णधार हुन भन्ने युक्तिलाई आत्मासाथ गरी अनुशासन, इमान्दारिता, बफादारिता र युवाहरुमा नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकताको मालामा उन्ने उद्देश्यका साथ सरकारले राष्ट्रिय कार्यक्रम तर्जुमा गरी नेपाली सेनालाई यो तालिम गर्ने जिम्मेवारी राष्ट्रिय सेवा दललाई दिएको हो ।
दिक्षान्त कवाज समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, सैनिक अस्पताल नेपालगन्जका सहायक रथी नम्रता रावत, श्री ४ नं. बाहिनी अड्डा नेपालगन्जका सहायक वाहिनीपति उमेश कार्की, इपिसेन्टर नेपालगन्जका कार्यालय प्रमुख इन्द्रबहादुर शाह, अर्जुनवाण गण ओभरी बाँकेका गणपति अशोक खड्का, देविदत्त गण ठाकुरद्वारा बर्दियाका गणपति हिमालय थापा, बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रेय पौडेल, बाँकेका एसपी सन्तोषसिंह राठोर लगायतको उपस्थिति रहेको थियो ।
त्यसक्रममा तालिममा सर्वोत्कृष्ट क्याडेटहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । सोमबार साँझ शिक्षालयमा आयोजित सांस्कृतिक साँझमा क्याडेट विद्यार्थीहरुले आ-आफ्नो भुषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij