शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ढाँट्दै, ठग्दै सबैलाई हैरान पारेका नक्कली वकिल!

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०८०



  • झन्डै एक महिना अघिको कुरा हो। सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुख विमल पौडेललाई एउटा खबर आयो—तपाईंको कार्यकक्षमा भक्तविक्रम भन्ने मान्छे मिलापत्रको निवेदन लिएर आउँदैछ। उसले त मान्छेलाई मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने रहेछ!

    नभन्दै केही बेरमै एक जना वकिल हातमा फाइल बोकेर आए। उनले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका नारायण शमशेर जबरा थरका व्यक्तिको मिलापत्र सम्बन्धी निवेदन लिएर आएका थिए।

    पौडेलले उनलाई सोधे, ‘तपाईंको के नाम हो?’

    ‘भक्तविक्रम सिंह,’ ती मानिसले जवाफ दिए।

    ‘अधिवक्ता हो? कति हो लाइसेन्स नम्बर?’ पौडेलले सोधे, ‘खै मलाई अधिवक्ताको लाइसेन्स देखाउनुहोस् त।’

    ती मान्छेको अनुहारको रङ नै बदलियो।

    हतास भए र भने, ‘मैले ब्याग बाहिर राखेको छु। लिएर आउँछु श्रीमान।’

    बाहिर निस्किएका भक्त फर्केर आएनन्।

    बेलुकापख बरू पौडेलले अर्को खबर पाए— त्यो मान्छे त ठग रहेछ, पक्राउ पर्‍यो!

    बाहिर गएका आफ्ना वकिललाई नारायण शमशेर भने कुरेर बसेका थिए। केही बेरमा उनी आफैं बाहिर निस्किए। तर भक्तलाई देखेनन्। अनि घर आए। घर आएपछि प्रहरीले उनलाई फोन गर्‍यो र तारिख पर्चाबारे सोध्यो।

    उनी प्रहरी कार्यालय पुगेपछि बल्ल थाहा पाए, भक्तविक्रम त ठग रहेछन्।

    प्रहरीले भने भक्तविक्रम सिंह भन्ने मान्छेले ठग्ने गरेको सूचना जाहेरीहरू पर्नुभन्दा पहिल्यै पाएको थियो। सूचना पाएपछि भक्तविक्रमबारे निगरानी बढाएको काठमाडौं प्रहरी परिसरका डिएसपी भरतबहादुर शाहले बताए।

    भक्तबाट ठगिएको भन्दै सबभन्दा पहिले कपनकी सुजाता नेपालले जाहेरी दिइन्।

    उनका बुवा एकराज दाहाललाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले दोषी ठहर गरी बिगोबमोजिम जरिवाना भर्नुपर्ने फैसला गरेको थियो। यो फैसलाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दिन परिवारले वकिल खोजे। विष्णु भन्ने नरबहादुर चिनजानमै थिए। उनले भक्तविक्रम भन्ने राम्रा वकिल छन् भनेर चिनाए।

    गत असोज ८ मा भेटेर भक्तले आफैंले पुनरावेदन दर्ता गरिदिने बताए। पुनरावेदन गर्दा धरौटी राख्नुपर्थ्यो। त्यो धरौटी राखेर पुनरावेदन गरिदिने भन्दै दस लाख रूपैयाँ त्यही दिन लिएको सुजाताको जाहेरीमा उल्लेख छ।

    मंसिर ८ मा भक्तले फेरि १८ लाख रूपैयाँ मागे। बिगोबमोजिमको जरिवाना तोकिएको फैसला पुनरावेदन गर्दा सर्वोच्चमा जमानत बुझाउनुपर्ने भन्दै उनले उक्त पैसा लगेका थिए। योबीचमा एकराजको परिवारलाई उनले सर्वोच्चमा मुद्दा चलिरहेको र आफूले तारिख धाइरहेको पनि बताएका थिए।

    गत माघ ४ मा एक्कासि प्रहरीले एकराजलाई पक्राउ गर्‍यो। परिवार झसंग भयो।

    बुझ्दै जाँदा त भक्तले पुनरावेदन दर्ता गरिदिएकै रहेनछन्। एकराज पक्राउ परेपछि आफूहरूले भक्तलाई फोन गरेर के भएको भन्दै सोधेको सुजाताको जाहेरीमा उल्लेख छ।

    त्यसपछि पनि भक्तले उनीहरूलाई छोडेनन्। केही दिनमा छुटाउँछु भनेर तीन लाख रूपैयाँ मागे। बुवा पक्राउ परेर आत्तिएको दाहाल परिवारले फेरि रकम दियो।

    त्यसपछि भने भक्त उनीहरूको सम्पर्कमा आएनन्। बेपत्ता भए।

    वकिल बनेर भक्तले लक्ष्मीकुमारी कार्कीलाई पनि झुक्याएका छन्। लक्ष्मी र देवबहादुर तामाङबीच आठ लाख रूपैयाँको कारोबार भएको थियो। त्यो रकम फिर्ता मागेपछि देवले दुइटा चेक दिएका थिए। बैंकमा जाँदा खाता रित्तै रहेछ। चेक बाउन्स भयो। त्यसपछि लक्ष्मीले पैसा असुल्न मुद्दा हाल्ने विचार गरिन्।

    चिनजानका विष्णु भन्ने नरबहादुरसँग कुरा गरिन्। उनले भक्तविक्रम नाम गरेका राम्रा वकिल छन् भनेपछि भेट भयो। भेटेर ती दुवै चेक भक्तले लगे। त्यसपछि उनी कहिल्यै भेट भएनन्। यता लक्ष्मी आफ्नो मुद्दा चलिरहेकोमा ढुक्क भएर बसिन्। धेरैपछि उनलाई थाहा भयो, भक्तले उनलाई झुक्याए।

    भक्तले विनोदकुमार रोकालाई ‘डबलक्रस’ नै गरेका छन्। जाहेरीमा उल्लेख भएअनुसार विनोदले निरोज श्रेष्ठ नाम गरेका व्यक्तिलाई २०७६ वैशाख ११ मा ४४ लाख रूपैयाँ दिएका थिए। निरोजले केही दिनमै बाघभैरव बचत तथा ऋण सहकारीको चेक काटिदिए। भुक्तानी गर्न जाँदा खातामा पैसा नभएकाले चेक बाउन्स भयो।

    त्यसपछि निरोज सम्पर्कबिहीन भए। अनि विनोदले अदालतमा मुद्दा हाल्न वकिल खोजे। भक्तसँग उनको भेट भयो। आफ्नो समस्या बताएपछि भक्तले चेक अनादारमा मुद्दा हालिदिने भन्दै बाउन्स भएको सक्कल चेक र थप एक लाख रूपैयाँ लिए। केही समयसम्म उनी सम्पर्कमै थिए। पछि हराए।

    धेरै समयपछि मात्र विनोदले थाहा पाए, भक्तले त बाउन्स भएको चेक लगेर निरोजलाई बुझाएका रहेछन्।

    आफूलाई भक्तले ठगेको कुरा उनले बल्ल थाहा पाए।

    त्यस्तै जयराम कार्कीलाई काठमाडौं जिल्ला अदालतले कुनै मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तिराएको थियो। उनी पुनरावेदन गर्न वकिलको खोजीमा थिए। त्यही बेला भक्त भेट भए। उनले पुनरावेदन गरिदिन्छु भन्ने आश्वासन दिए, दुई लाख रूपैयाँ चाहिन्छ भने। जयरामले अनामनगरको रेस्टुरेन्टमा भेटेर २०७६ माघ १६ मा पैसा दिए। जब पुनरावेदन गर्ने म्याद पनि सकियो तब बल्ल उनले ठगिएको थाहा पाए। त्यसपछि अदालत पुगेर कैद र जरिवाना बमोजिमको रकम तिरे।

    भक्तले बैंकिङ कसूर र लेनदेनमा मात्र होइन, बलात्कार मुद्दा पनि मिलाइदिने भन्दै ठगी गरेका छन्।

    काठमाडौंको बानियाटार बस्ने राजाराम सिरमलका भाइ कृष्ण सिरमललाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले १४ वर्ष जेल सजाय र ५० हजार जरिवाना तिराएको थियो। राजारामले २०७५ माघमा भक्तलाई थापाथलीमा भेटेका रहेछन्।

    त्यो बेला आफूलाई वरिष्ठ कानुन व्यवसायी हुँ भनेर चिनाएका भक्तलाई राजारामले भाइको फैसलाबारे बताए। उच्च अदालतमा पुनरावेदन दिएर सफाइ दिलाउँछु भन्ने आश्वासन भक्तले दिइहाले। त्यसका लागि पाँच लाख रूपैयाँ चाहिन्छ भने। २०७६ असोजमा उक्त रकम दिएको राजारामको जाहेरीमा उल्लेख छ।

    यी सबै व्यक्तिले भक्तलाई वकिल भनेर विश्वास गरेका थिए। वकिलको ब्याज भएको कालो कोट लगाउने भक्तमाथि शंकाको आधार पनि देखेनन्। नारायण शमशेर त अझ भक्तलाई पाटन उच्च अदालतमा अर्को कुनै मुद्दामा बहस गरेको समेत देखेको बताउँछन्।

    प्रहरीले भक्तलाई पक्राउ गरिसकेपछि छानबिन गर्दा उनको साथबाट ६३५२ नम्बरको अधिवक्ता प्रमाणपत्र फेला परेको छ। त्यो प्रमाणपत्र बाँकेका अधिवक्ता गणेशप्रसाद शर्माको हो। उनले पनि प्रहरीमा भक्तविरूद्ध जाहेरी दिएका छन्।

    काठमाडौं प्रहरी परिसरका डिएसपी भरतबहादुर शाहका अनुसार ९/१० वर्ष पहिले बाँकेमा भक्तविरूद्ध ठगी मुद्दा परेको थियो। त्यतिबेला गणेश काम गर्ने ल-फर्मले भक्तको पक्षमा वकालत गरेको थियो।

    ‘त्यही बेलाका कागजपत्रमा उल्लेखित अधिवक्ता शर्माको लाइसेन्स नम्बर भक्तले लिएर काठमाडौंमा ठग्दै हिँडेको देखिन्छ,’ डिएसपी शाहले भने।

    पक्राउ परिसके पछि भक्तले झुट बोलेर आफूहरूलाई हैरान पारेको उनले बताए।

    भक्तले आफू रामबहादुर सिंह भएको बताएका थिए। प्रहरीले उनको ठेगाना पत्ता लगायो। जाजरकोटको छेडगाउँ नगरपालिका १२ मा उनको घर हो भन्ने थाहा पाएपछि प्रहरीले त्यहाँका जनप्रतिनिधिलाई सम्पर्क गर्‍यो।

    ‘रामबहादुर सिंह भन्ने त केही समयअघि मरिसके पो भन्छन्,’ डिएसपी शाहले भने, ‘त्यसपछि हामीले थप खोजी गर्‍यौं।’

    पछि थाहा भयो, रामबहादुर सिंह भक्तका सहोदर दाइ रहेछन्। उनको मृत्यु भइसकेको छ।

    ‘मरेको दाइको नाम लिएर हामीलाई समेत झुक्याउन खोज्यो,’ शाहले भने, ‘उसले आफ्नो नाम समेत सही बताएको रहेनछ।’

    भक्तविक्रम सिंह भनेर चिनाउँदै आएका उनको वास्तविक नाम रहेछ- भक्तबहादुर सिंह।

    त्यसपछि भक्तको ट्र्याक रेकर्ड खुल्दै गयो।

    उनी २०५७ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका थिए। २०६३ सालमा उनलाई गैरहाजिरी कसूरमा सेवाबाट हटाइएको थियो। त्यसपछि उनी ठगी धन्दामा लागेको देखिन्छ।

    २०६९ सालमा उनलाई काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख जरिवाना र एक वर्ष कैद सुनाएको थियो। २०७२ सालमा पनि अर्को ठगी मुद्दामा बाँके जिल्ला अदालतले चार वर्ष कैद र ९० हजार जरिवाना सुनाएको थियो।

    केही वर्ष जेल बसेर निस्किएपछि उनी फेरि यो धन्दामा लागेको देखिन्छ।

    अहिले जाहेरी दिएका अधिकांशले भक्त पक्राउ परेपछि मात्रै उनले वकिल भनेर आफूहरूलाई ठगेको थाहा पाएका हुन्।

    भक्तलाई प्रहरीले २३ दिन हिरासतमा राखेर छानबिन गरेको थियो। त्यही क्रममा बलात्कार प्रयास गरेको भन्दै उनीविरूद्ध एक महिलाले जाहेरी दिएकी छन्। त्यसमा पनि अनुसन्धान भइरहेको छ।

    सरकारी वकिलले अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार भक्तले ६ जना जाहेरवालाबाट ९१ लाख २० हजार रूपैयाँ ठगी गरेका छन्। उनलाई कानुनअनुसार सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना र ठगी गरेको रकम फिर्ता गराउन माग गरिएको छ।

    भक्तसँग मिलेर विभिन्न ठगी गरेको आरोपमा विष्णु नेपाल भन्ने नरबहादुर नेपाल र रमेशकुमार पाण्डेमाथि पनि मुद्दा चलेको छ। उनीहरूलाई ठगी मुद्दामा भक्तलाई हुने सजायको आधा सजाय गर्न माग गरिएको छ। नरबहादुरलाई भने यसअघि पनि बैंकिङ कसूरमा सजाय र जरिवाना भएको थियो। त्यसैले उनलाई कानुनअनुसार थप सजाय हुनुपर्ने सरकारी वकिलको माग छ।

    यो मुद्दामा जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ। न्यायाधीश दयाराम ढकालको इजलासले आइतबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij