प्रकाशित मिति : बिहिबार, अशोज २५, २०८०
देउखुरी । विभिन्न ठाउँमा अवैधरुपमा संकलन गरी राखिएको बालुवा लमही नगरपालिकाले बरामद गरेको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारीभित्र लुकाएर राखेको बालुवा बरामद गरिएको हो ।
नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठ, वडा नं. १ का अध्यक्ष दामोदर पौडेल, २ का वडाध्यक्ष नेपालु चौधरी, ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, ६ का वडाध्यक्ष श्यामनारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा, प्राविधिक अमित विश्वकर्मालगायतको टोलीले अनुगमन गर्दै अवैधरुपमा थुपारेर राखिएको बालुवा नापजाँच गर्दै बरामद गरेको हो ।
लमही नगरपालिका–७ को हसनापुरबाट ११ सय ५५ घन मिटर बालुवा, गिधनियाँबाट तीन सय घन मिटर बालुवा, बनगैबाट एक सय ३८ घन मिटर बालुवा, सोही ठाउँबाटै एक सय आठ घन मिटर गरी एक हजार सात सय एक घन मिटर बालुवा बरामद गरिएको छ । लमही नगरपालिका–६ मध्यनगर अर्जुनखोला घाटबाट दुईवटा ट्याक्टर, आठको गिधनियाँ घाटबाट दुईवटा ट्याक्टर, वडा नं. २ को घाटबाट एउटा गरी पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । त्यस्तै अवैधरुपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एउटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij