शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पश्चिम नवलपरासीका ठूला आयोजनाको काम सुस्त

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०८०



  • नवलपरासी। सरकारले विशेष महत्व दिएका पश्चिम नवलपरासीमा निमार्णाधीन ठूला आयोजनामा कामको गति निकै सुस्त छ । बुटवल–नारायणगढ सडक बिस्तार, हुलाकी राजमार्ग, सुस्तामा निर्माणाधीन नेपालकै लामो झोलुङ्गे पुलको काम तोकेको अवधि सकिएको भन्दा दोब्बर समय हुन लाग्दा समेत कामको प्रगति सन्तोषजनक छैन् ।

    ठेकेदार कम्पनीले सम्झौता अनुरुप काम गरेको भए अहिले बुटवल–नारायणगढ सडकमा दुई वर्षदेखि आरामदायी यात्रा गर्न सकिने हुन्थ्यो ।

    दुईपटक समय थप गर्दा समेत यो सडक खण्डको काम पूरा नहुँदा धुलो र खाल्डाखुल्डीले राजमार्गको यात्रा कष्ट भनिसाध्य छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर र दाउन्नेदेखि बुटवल ४९ किलोमिटरलाई दुई भागमा विभाजन गरेर काम गरिरहेको छ । २०७५ चैतमा बुटवलबाट सडक स्तरोन्नतिको काम सुरु भएर ०७८ साउनमा सम्पन्न हुनुपर्ने हो । झण्डै १७ अर्ब लागतको उक्त आयोजनामा अहिलेसम्म गैंडाकोटदेखि दाउन्नेसम्म करिब ४३ प्रतिशत काम भएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

    ‘रुख कटान, विजुलीका पोल सार्न ढिलाई, कोरोना तथा निमार्ण सामग्रीको अभावले सोचेअनुसार काम हुन सकेको थिएन्,’ झाले भने,‘पछिल्लो समय कामले तिब्रता लिएको छ, एकतर्फी करिब १७ किलोमिटर कालोपत्रे समेत गरेका छौं । अधिकांश पुल र कल्भर्टको काम सकिन लागेको छ ।’ दाउन्नेदेखि बुटवलसम्मको प्रगति पनि सन्तोषजक छैन् ।

    सडक निमार्णले गति लिन नसक्दा यो सडक खण्ड हुँदै यात्रा गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने सडक आसपासका स्थानीय धुलो र प्रदुषण सहन बाध्य छन् । दर्जनौं स्थानमा पुल र कल्भर्ट निमार्णका लागि गरिएको डाइभर्सनले सवारी आवागमनमा समस्या परेको छ भने धुलोले गर्दा दिउँसै बत्ती बालेर हिँड्नुपर्ने अवस्था छ । निर्माणका दौरान धुलो र प्रदुषणरहित बनाएर मात्र काम गनुपर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी र सरकारी पक्षले यसलाई बेवास्ता गर्दै आएका छन् ।

    स्थानीयले आन्दोलन गरेर दबाब दिएको स्थानमा समय–समयमा पानी राख्ने गरिए पनि अन्य स्थानमा धुलो र हिलोले यात्रु आजित हुन्छन् । ‘काम सम्पन्न भएर ढुक्कले यात्रा गर्न पाउनुपर्ने समयमा धुलो र खाडलले हिँड्ने अवस्था नै छैन्,’ सुनवल–१२ का नवराज अधिकारीले भने,‘कसैलाई सजाय दिनुपर्ने भयो भने यो सडकको यात्रा गराईदिए पुग्ने अवस्था छ ।’ यो आयोजनामा ठेक्काको म्याद दुई पटक थपिएको छ । पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी २०८१ साउनसम्म म्याद थप भएको छ । तर, पछिल्लो समयमा पनि कामले गति लिन सकेको छैन् ।

    केही दिन अघि अर्थमन्त्री प्रकाशशरण महतले सडकको स्थलगत अनुगमन गर्दै ठेकेदारको लापरवाहीले सडक बिस्तारको काममा ढिलाई भएकाले काममा तीब्रता नदिए सोच्नुपर्ने बताएका थिए । कामको प्रगति हेर्दा थपिएको अवधिमा पनि सडक निर्माणको काम नसकिने अवस्था देखिइरहेको स्थानीयको भनाइ छ । सरकारले दिएको समय आगामी साउनसम्म भए पनि निर्माण कम्पनीले १९ महिने कार्ययोजना तयार गरेर काम गरिरहेको छ ।

    हुलाकी सडक पनि उस्तै

    ठेकेदार कम्पनीको लापरवाहीका कारण पश्चिम नवलपरासीमा निर्माणाधीन हुलाकी सडक अर्न्तगत प्रतापपुरको कठहवादेखि बेलाटारीसम्मको ९ किलोमिटर सडक निमार्णले पनि गति लिएको छैन् । नदीजन्य पदार्थ उपलब्ध नहुँदा काममा ढिलाई भएको ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी जेभीले काममा ढिलाई गर्दै आइरहेको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले ठेकेदारलाई पटकपटक ताकेता गर्दा समेत कामले तिब्रता नलिएको बताए । सडक निमार्णको विषयमा केन्द्रसम्म जानकारी गराएकोमा कहिले काम तीब्र पार्ने, कहिले त्यतिकै छाड्ने प्रवृति बढेको छ । निमार्ण सम्पन्न हुनुपर्ने समयमा जम्मा ४० प्रतिशत मात्र काम भएको छ । २०७७ मा निमार्ण सुरु भएर २०७९ असार मसान्तसम्म सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि २०८० असार मसान्तसम्म थप भएको समय पनि सकिएको छ । दोस्रो पटक म्याद थपको तयारी छ ।

    ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिएको हुलाकी सडक आयोजना निर्देशनालय कपिलवस्तुका इन्जिनियर युवराज पाण्डेले बताए । ‘हुलाकी सडक खण्डको काममा ढिलाई भएको छ । पटकपटक ताकेता गर्ने र सहजीकरण गर्ने काम भैरहेको छ,’ पाण्डेले भने,‘ जिल्लामा संचालनमा रहेको दुई वटा हुलाकी सडक खण्डको काम दुबैमा सुस्त छ ।’ सदरमुकाम परासीदेखि गोपीगञ्ज जोड्ने १३ किलोमिटरको हुलाकी राजमार्गको अवस्था पनि उस्तै छ । द कञ्चनजंघा विरुवा शिवशक्ति जेभीले निमार्णको जिम्मा पाएको यो सडक ७ वर्षमा पनि काम सम्पन्न गरेको छैन् । नौ करोड लागतको यो सडक २०७३ फागुनमा सुरु गरेर २०७५ फागुनभित्रमा सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ९० प्रतिशत मात्र काम भएको छ । २ वर्षमा सक्नुपर्ने काम सात वर्षमा पनि समपन्न नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।

    सुस्त गतिमा सुस्ताको पुल

    सुस्ताका बासिन्दाका लागि सपना बनेको सुस्ता–५ को पक्लीहवास्थित सकरदिनहीदेखि सुस्ताको घाटसम्म १ हजार ५ सय ७१ मिटर लामो झोलुंगे पुल आठ वर्षदेखि निर्माणाधीन छ । यो पुल निर्माण सकिए सुस्ताबासीले भारतीय बाटो हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हट्ने छ । नारायणी नदीमा पुल नहुँदा डुंगाको जोखिमपूर्ण यात्रा गर्न सुस्ताबासी बाध्य छन् ।

    २०७२ असोजमा निमार्ण सुरु भएर २०७५ पुषमा सम्पन्न हुनुपर्ने यो पुल अहिलेसम्म पनि पूरा नहुँदा स्थानीय वर्षाको समयमा भारतीय भूमि हुँदै आवातजावत गर्न बाध्य छन् । नदीमा पुल नहुँदा सुस्ताबासीलाई प्रशासनिक र औषधि उपचारका लागि हिउँदमा डुंगा र वर्षामा भारतीय भूमि हुँदै हिँडडुल गर्नुपर्ने बाध्यता रहेको स्थानीय रविन्द्र जयसवालले बताए । पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको हो ।

    निर्माण सामग्री र कोरोना कहर देखाउँदै तेस्रो पटक थप भएको म्याद २०८० असार २४ गते सकिएको छ । काम ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भए पनि पटक–पटक ठेकेदार पक्षले काम छोडेर भागेका कारण स्थानीयमा पुल सम्पन्न हुनेमा अझै पनि आशंका छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij