शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

त्रिभुवन चोक नेपालगन्ज

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०८०



  • कुनै वेला नेपालगन्जको त्रिभुवन चोकको चर्चा निकै हुने गथ्र्यो । बाहिरबाट आएकाहरू त्रिभुवन चोक नपुगे नेपालगन्जको यात्रा अधुरो महसुस गर्थे । त्रिभुवन चोकमा पाइने रावडी, सेबइ, पानीपुरी, रसगुल्ला, घमन्जा, चाट, दही, पुरी, परोठा, समोसा, टिकियालगायतका रैथाने परिकार खान छुटाउँदैनथे । बाहिरबाट त्रिभुवन चोक पुगेकाहरूलाई इष्टमित्र र साथीभाइले रावडी लिएर आउन आग्रह गर्थे ।

    अहिलेको त्रिभुवन चोकको नाम पहिले जुद्ध चोक थियो । तत्कालीन राजा त्रिभुवन नेपालगन्ज भ्रमणमा आउने भएपछि तत्कालीन प्रशासकले जुद्ध चोकलाई त्रिभुवन चोक नामाकरण गरे । जनआन्दोलन ०६२–०६३ का वेला चोकमा रहेको त्रिभुवनको सालिक तोडफोड भयो । उक्त चोकमा रहेको त्रिभुवनको सालिक ढालिएपछि कुरूप बनेको चोकलाई नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपालगन्ज उपमहानगरपालिकाले चारैतिर ढाकेर सौन्दर्यीकरण गरे । त्रिभुवनको सालिक भएको ठाउँमा राष्ट्रिय झन्डा राखियो । जनआन्दोलनले सालिक ढाले पनि सर्वसाधारणले उक्त चोकलाई त्रिभुवन चोक भन्न छाडेनन् ।

    मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका कमल गिरीको नाममा यो चोकलाई ‘कमल मधेसी चोक’ बनाउने प्रयास नभएको पनि होइन । मधेशवादी दलले त्रिभुवनको सालिक भएको ठाउँमा कमल मधेसी चोक लेखे । तर, सर्वसाधारणको जिब्रोमा भने त्रिभुवन चोक नै झुन्डिरह्यो ।

    ‘मधेसीको बाहुल्य भएको क्षेत्र र मधेश आन्दोलनका क्रममा यही क्षेत्रमा आन्दोलनकारीको मृत्यु भएकाले हामीले यो चोकलाई कमल मधेसी चोक बनाउने प्रयास गरेका थियौँ, तर जनताको मन–मस्तिष्कमा त्रिभुवन चोक भनेर चिन्ने भएकाले हाम्रो प्रयास सफल हुन सकेन,’ व्यवसायी ललित रौनियारले भने । नेपालगन्जको मुटु त्रिभुवन चोक भएकाले सबै राजनीतिक दल, संघसंस्थाको नजर त्रिभुवन चोकमा पर्ने गरेको उनले बताए । ‘त्रिभुवन चोकमा भएको घटना र कार्यक्रम छिनभरमा देशभर फैलिने भएकाले राजनीतिक दल र आन्दोलनकारीले त्रिभुवन चोकलाई रोजेका हुन्,’ रौनियारले भने ।
    त्रिभुवन चोकसँगै सदरलाइन र एकलैनी, गगनगन्ज, फुल्टेक्रालाई पुरानो तथा ऐतिहासिक बजारको रूपमा लिइन्छ । व्यापारिक केन्द्रको रूपमा भने अहिले पनि त्रिभुवन चोकलाई लिइन्छ । मध्यरातसम्म जाग्राम रहने यो चोक पछिल्लो समय समसाँझै निदाउने गरेको छ ।

    मध्यरातसम्म खुल्ने यहाँका पसल समसाँझै बन्द हुने गरेका छन् । ‘पहिले यहाँका पसल मध्यरातसम्म खुल्थे । जसरी रात छिपिँदै जान्थ्यो, सर्वसाधारण किनमेलका लागि त्रिभुवन चोक आउँथे । चियासँगै विभिन्न थरीका परिकार खानेको भिड लाग्थ्यो । साथीभाइसँग गफिन टाढा–टाढाबाट सर्वसाधारण त्रिभुवन चोक आउँथे । यहाँको रौनकता नै फरक थियो,’ नेपालगन्जलाई ७० वर्षदेखि नियाल्दै आएका अवधि सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालले भने, ‘मध्यरातको १२–१ बजेसम्म जाग्राम रहने त्रिभुवन चोक अहिले फेरिएको छ । समसाँझै बन्द हुन्छ ।’

    २०५१ मा भएको हिन्दु–मुस्लिम द्वन्द्वले त्रिभुवन चोकलाई पहिलो झट्का दियो । उक्त द्वन्द्वले तंग्रिन नपाउँदै मधेश आन्दोलन र मधेसी–पहाडीबीचको द्वन्द्वले फेरि त्रिभुवन चोकलाई असर गर्‍यो । आन्दोलनले त्रिभुवन र आसपासका क्षेत्रलाई नराम्रोसँग प्रभावित पा¥यो । आन्दोलनका कारण मधेसी–पहाडियाबीच द्वन्द्व चर्किँदै गएपछि पहाडियाहरू त्रिभुवन चोक जान हच्किन थाले । त्यसको मार त्रिभुवन चोक र सदरलाइनको व्यापारमा पर्‍यो ।

    मधेश आन्दोलन, पहाडिया–मधेसी, हिन्दु–मुस्लिम द्वन्द्वको सबैभन्दा धेरै मार खेपेको त्रिभुवन चोकले आफ्नो पुरानो प्रभाव अहिलेसम्म फर्काउन नसकेको व्यवसायी रौनियारको भनाइ छ । ‘आन्दोलन र बन्द गर्ने सबैको पहिलो नजर त्रिभुवन चोकमा पर्छ । बन्द र आन्दोलनले यो क्षेत्रको व्यापार–व्यवसायमा ठूलो असर परेको छ,’ उनले भने ।

    साहित्यकारसमेत रहेका नेपालगन्जलाई नजिकबाट चिन्ने सचिदानन्द चोवे पनि मधेश आन्दोलन, मधेसी–पहाडी, हिन्दु–मुस्लिम द्वन्द्वको पहिलो मार त्रिभुवन चोकले खेप्नुपरेको बताउँछन् । आन्दोलनकारीको पहिलो प्राथमिकता त्रिभुवन चोक पर्ने गरेको उनको भनाइ छ । ‘नेपालगन्जमा हुने हरेक गतिविधिको केन्द्र त्रिभुवन चोक बन्दा व्यापार–व्यवसाय चौपट त भएकै छ, यो क्षेत्रका व्यापारी असुरक्षित महसुस गरेकोसमेत मैले पाएको छु,’ उनले भने । बन्द, हडताल र आन्दोलनले व्यापार–व्यसायमा असर परेपछि व्यापारीले पसल न्युरोडमा सारेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए ।

    त्रिभुवन चोकलाई जुलुस, सभा, प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गर्न त्यस क्षेत्रका व्यापारीले माग गरेका छन् । तर मधेश आन्दोलनका अगुवासमेत रहेका ललित रौनियार लोकतन्त्रमा सभा, सम्मेलन गर्ने अधिकार भएकाले चोक वा ठाउँ किटान गरी निषेधित क्षेत्र घोषणा गर्न नहुने बताउँछन् । ‘सभा, सम्मेलन गर्ने अधिकार लोकतन्त्रले सबैलाई दिएको छ । त्रिभुवन चोकलाई निषेधित क्षेत्र घोषणा गरेर सभा, सम्मेलन गर्न रोक्नु उचित हुँदैन,’ उनले भने, ‘सभा, सम्मेलन हुँदैमा व्यापार–व्यवसायमा घाटा हुने कुरा हुन्न ।’

    यस क्षेत्रमा ठूला सवारीसाधन प्रवेशमा रोक लगाउनुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । ‘त्रिभुवन चोकको ऐतिहासिकता जोगाउन यस क्षेत्रमा चारपांग्रे गाडी प्रवेशमा रोक लगाउनुपर्छ । अटो रिक्सा र मोटरसाइकलका लागि पनि एकतर्फी बाटो बनाउनुपर्छ,’ उनले भने ।

     

    ऐतिहासिक महत्व
    त्रिभुवन चोकको इतिहास निकै पुरानो देखिन्छ । यो नेपालगन्जको मुख्य बजार हो । सन् १८६० मा ब्रिटिस इन्डियाबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएपछि जंगबहादुर राणाले नेपालगन्ज सहर बसाएको जानकारहरू बताउँछन् । सन् १८६० ताका चोक खाली थियो । चोकको माझ भागमा एउटा चारपाटे दुईतले घर ठड्याइएको थियो, ठीक अहिलेको सालिक भएको ठाउँमा । नेपालगन्जमा व्यापार गर्न आउने ठूला महाजनहरूलाई त्रिभुवन चोक र चोककै वरिपरिका घरहरूमा वास दिइन्थ्यो ।

    सन् १९४२ तिर जुद्धशमशेर सिकार खेल्न नेपालगन्ज आउने कुरा चलेपछि तत्कालीन बडा हाकिमले हाल नगर भवननजिक भन्सार कार्यालय सारे । त्यहाँ श्री ३ महाराज जुद्धशमशेरको सालिक राख्ने निर्णय गरे । भन्सार भएको चारपाटे घर भत्काइयो । त्यहाँ गोलाकार गुम्बद भएको सालिक निर्माणस्थल तयार गरेर काठमाडौंबाट अष्टधातुको सालिक निर्माण गराएर स्थापित गराइएको साहित्यकार सनत रेग्मी बताउँछन् ।

    गोलाकारभित्र चारवटा खम्बामाथि गुम्बद, त्यही तल माझमा राजसी पोसाकमा श्रीपेच लगाएका जुद्धशमशेर जबराको भव्य सालिकले चोकबजार सुशोभित भएको थियो । रेग्मीका अनुसार, सुरु–सुरुमा सदरलाइनबाट दक्षिण जाने चोकको चारैतिरबाट आउने–जाने बटुवाहरू चोकबाट अघि बढ्नुपर्दा जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अघि बढ्नुपथ्र्यो । विसं ००७ सालको जनक्रान्तिको प्रभाव यो चोकमा पनि पर्‍यो । क्रान्तिकारी युवाहरूले जुद्धशमशेरको सालिक तोड्न खोजे, तर श्रीपेच ढाल्नेबाहेक अरू कुनै क्षति पुर्‍याउन सकेनन् । जुद्धशमशेरको सालिक श्रीपेचहीन अवस्थामा रह्यो ।

    २०१६ सालमा नेपालगन्ज पहिलो नगरपालिका गठन भयो । जसको मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । त्यस नगरपालिकाको बोर्डले जुद्धशमशेरको सालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोस्ट बनाउने निर्णय गर्‍यो र, चोकबजारबाट जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनाइयो । त्यतिवेला चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकी बालेर सडकबत्ती बालिन्थ्यो ।

    २०२१ सालतिर तत्कालीन नगरपञ्चायतले राजा त्रिभुवनको सालिक चोकबजारमा स्थापित गरेपछि यो स्थान चोकबजारबाट त्रिभुवन चोक हुन पुग्यो । ०६२–०६३ को जनआन्दोनल, मधेश आन्दोलनले त्रिभुवनको सालिक पूर्ण ध्वस्त बनाई यसको नाम कमल मधेसी चोक भनाउन खोजे पनि जनजिब्रोमा बसिसकेको त्रिभुवन चोकको नाम हट्न सकेको छैन ।

    त्यसपछि धेरै वर्ष विनासालिकको स्तम्भ मात्र ठिंग उभिरह्यो । चोकको सौन्दर्य बिग्रिएको जनगुनासोपछि नेपालको झन्डा राखियो । गत वर्ष धेरैले विरोध गर्दागर्दै पनि त्रिभुवनको सालिक राखिएको छ । राखिएको सालिक हटाउन प्रशासनले प्रयास गरे पनि हटाउन सकेन ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij