शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

थारु समुदायमा माघी पर्वको रौनक सुरु, भुवर भवानीमा माघी मेला

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०८०



  • थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

    पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने बाँकेका थारु अगुवा रामदास थारुले बताए।

    “माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन्”, उनले भने, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ।”

    थारु समुदायमा माघीलाई विशेष महत्त्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने बैजनाथका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताए।

    “यो पर्वलाई समुदायमा आ–आफ्नै तरिकाले मनाउने गरिएको छ । तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया एक वर्षलाई एउटै हुने भएकाले यसको विशेष महत्त्व रहन्छ”, उनले भने।

    माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वका रुपमा रहेको चौधरीको भनाइ थियो।

    पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यी जिल्लामा विशेष महत्त्वकासाथ मनाउने गरिन्छ।

    गाउँको अगुवा, प्रमुखदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन, घरसल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेका राप्ती सोनार–३ बैजापुरका थारु अगुवा तुलसीराम थारुले बताए।

    “विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको रौनकता बढ्छ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड तथा ढिक्री पकाउने तथा खानाका अन्य परिकार बनाउने काम पुरा भएको छ”, उनले भने, “माघीको अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजना हुन गर्दछन्।”

    तुलसीरामका अनुसार थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन्। गाउँभरिका मानिसहरु एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बालेर रातभर रमाइलो गर्दछन्।

    राती आगो ताप्ने, बिहान भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् । नुहाएर आफुभन्दा ठूलासँग आशिर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको उनको भनाइ थियो।

    “माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने गरिन्छ”, तुलसीरामले भने। माघी पर्वसँगै थारु सँस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान पनि सुरु भएको बैजनाथ–१ च्यामाका गणेश थारुले जानकारी दिए।

    थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित भुवर भवानी मन्दिर परिसरमा आजदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ।

    बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वको अवसरमा लाग्ने माघी मेलामा बाँकोका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजनहरु यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले जानकारी दिए।

    “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

    विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष थारुले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij